क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकिको लगातार दोस्रो जित, विश्वप्रकाशको पहिलो जित

Banner

राकेश तिमल्सिना,

चितवन, फागुन ८–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘ए’को वाल्मीकि शिक्षा सदनले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको समुह ‘बी’ को विश्वप्रकाश माविले भने पहिलो जित हात पारेको छ ।

आजको पहिलो खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मीकिले मावि गंगानगरलाई ८७ रनको फराकिलो अन्तरमा हराएको हो । भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रभात मावि १२.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो । १० ओभरमा ५२ रन जोडेर ५ विकेट गुमाएको प्रभातले १० रन जोड्दा अन्तिम ५ विकेट गुमाउँदै अलआउट भयो । निशान भुषालले सर्वाधिक १७ रन बनाए । मनिष भट्टराईले १३ रन जोडे ।

प्रभातको इनिङ्स ध्वस्त बनाउनेक्रममा मुन्ना पटेलले ५ र रेशम काफ्लेले ३ विकेट लिए । ६३ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विश्वप्रकाशले १२.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

विश्वप्रकाशलाई जिताउन मुन्ना पटेल १० रनमा नटआउट रहे । बलिङमा अभिषेक लामिछाने र अभिनाश सापकोटाले समान २ विकेट लिए । ३.३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ लिएका मुन्ना पटेल खेलको प्लेयर अफ द म्याच बने ।

यस्तै अर्को खेलमा १ सय ४५ रनको लक्ष्य पछ्याएको मावि गंगानगर १६.४ ओभरमा ७७ रन जोड्दा अलआउट भयो । सर्वाधिक १४ रन बनाएका ओपनर जयप्रकाश यादव एभेन्जल थापाको बलमा आदर्श दुलालद्वारा समातिए ।

अर्का ओपनर राज विश्वकर्मा पनि १३ रन बनाउदा एभेन्जलकै बलमा बोल्ड हुँदै पेभेलियन फर्किए । गंगानगरलाई सस्तैमा समेट्नेक्रममा एभेन्जल थापाले ४ तथा माधव सापकोटा र संयम लामिछानेले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वाल्मीकिले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ६४ रनको योगफल बनायो । वाल्मीकिको इनिङ्स मध्यक्रममा युमन कडेल र अर्पित शाहीले सम्हालेका थिए । ४३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रन जोडेका युमन अभय अधिकारीको बलमा लङ्ग अफमा उर्वर तामाङद्वारा समातिए । ४१ बल खेल्दै अर्पित शाहीले ३६ रन जोडे ।

बलिङमा अभय अधिकारीले ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच युमन कडेल भए । यसैबीच आज मावि गंगानगरका ६ जना खेलाडी कारवाहीमा परेका छन् । विद्यालय बाहिरका प्रज्जवल कोइराला, सफल दवाडी र कुशल सुवेदी मैदानमा खेल्न उत्रिएपछी उनीहरु कारवाहीमा परेका हुन् । उनीहरुलाई टिममा आफ्नो नाम दुरुपयोग गरेर स्थान दिने सचिन महतो, अरुन रानामगर र सुजन रानाभाटलाई पनि टेक्निकल कमिटीले कारवाही गरेको हो । मावि गंगानगरले यी खेलाडीहरुको सट्टामा अब कुनै रिप्लेसमेन्ट समेत लिन नपाउने टेक्निकल कमिटीले निर्णय गरेको छ ।

प्रतियोगितामा भोलि (बुधबार) हुने पहिलो खेलमा इडन गार्डेन इङलिस स्कुल र सनराइज इङलिस स्कुल तथा अर्को खेलमा नारायणी नमुना मावि र लक्ष्मी मावि जगतपुर प्रतिस्पर्धा गर्नेछ । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सहआयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>