क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कपः इडन गार्डेन विजयी, नारायणीको लगातार दोस्रो जित

Banner

चितवन, फागुन ६–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा इडन गार्डेन स्कुल र नारायणी नमुना मावीले जित निकालेका छन् । आज (आइतबार) भएको खेलमा समुह बीको इडन गार्डेनले प्रभात मावीलाई ६ विकेटले तथा नारायणीले मावी गंगानगरलाई २३ रनले हराउदै जित हात पारेका हुन् ।

भरतपुर–१५, स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्रभात १७ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । २४ बल खेल्दै ३ छक्का र १ चौकासहित २६ रन बनाएका सन्देश श्रेष्ठ सचिन घतानीको बलमा बोल्ड हुँदै पेभेलियन फर्किए ।

त्यसबाहेक अन्य ब्याटरले दोहोरो आँकाडामा रन छुन सकेनन् । प्रभातको इनिङ्स ध्वस्त बनाउनेक्रममा सचिन घतानीले ४ तथा सौगात सापकोटा र सलिन सापकोटाले समान २ विकेट लिए ।

९५ रनको सामान्य लक्ष्य पछ्याएको इडन गार्डेनले १३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । इडन गार्डेनलाई जिताउन अभि सिंहले नटआउट १६ रन बनाए । त्यसअघि प्रेम तामाङले ३२ र सौगात सापकोटाले २२ रन जोडे ।

बलिङमा नर्मल बिकले २ तथा मनिष भट्टराई र अभिषेक लामिछानेले समान १ विकेट लिए । ४ ओभरमा १९ रन खर्चदै ४ विकेट लिएका सचिन घतानी खेलको प्लेयर अफ द म्याच बने । समूह बीको पहिलो खेलबाट जित निकाल्दै २ अंक जोडेको इडन गार्डेन नेट रनरेटका आधारमा समान अंक भएको अर्किडभन्दा एक स्थान तल दोस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा १ सय ४६ रनको लक्ष्यसहित ब्याटिङ थालेको मावी गंगानगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनमात्र बनाउन सक्यो । २८ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ओपनर राज विश्वकर्माले सर्वाधिक ३१ रन बनाए ।

अर्का ओपनर सुजन रानाभाटले १८ रन जोडे । तल्लोक्रममा कप्तान विश्वास तामाङले १७ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बलिङमा उमेश महतोले ३ तथा सन्जय यादव र चन्दन कुमार यादवले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । सन्जय यादवले सर्वाधिक २६ रन बनाए । ओपनर आयुष गिरीले २५ रन जोडे ।

बलिङमा विश्वास तामाङ र राज विश्वकर्माले समान ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गर्दै २६ रन बनाएर बलिङमा २ विकेट लिएका सन्जय यादव खेलको प्लेयर अफ द म्याच भए ।

लिगमा लगातार दोस्रो जित निकालेको नारायणी २ खेलबाट ४ अंक जोड्दै समुह एको शिर्षस्थानमा उक्लिएको छ । प्रतियोगितामा भोलि हुने पहिलो खेलमा अर्किड स्कुल र सनराइज इङलिस स्कुल प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा अंकुरम एकेडेमी र लक्ष्मी मावी आमनेसामने हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले मुख्य प्रायोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>