धार्मिक/सांस्कृतिक

मातातीर्थको ल्होंखा दबुमा ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै

Banner

काठमाडौँ, फागुन ६-

चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको) को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार ९सिकाली नृत्यसँग सम्बन्धित गुठीयार० ले सो स्थानमा नाच देखाउने छन् ।

यसका लागि आज साँझ ती गुठियार (देवगण)लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइने जनाइएको छ । देवगण पैदलै ल्होंखा आउने परम्परा रहिआएको छ । करिब एक सय ३० वर्षपछि विसं २०६८ मा सो दबुमा सिकाली नाच प्रदर्शनी गरिएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म सो नाच रोकिन पुगेको जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष पहल र नगरपालिकाद्वारा नाचका लागि आवश्यक केही रकम विनियोजन गरिएपछि सो ऐतिहासिक नाचले चन्द्रागिरिमा निरन्तरता पाएको हो । काठमाडौँको पश्चिम भेगको मातातीर्थको ल्होंखामा मात्र सिकाली नाच प्रदर्शनी गरिने परम्पार रहिआएको छ । नगरप्रमुख गिरीले आज ल्होंखा दबु परिसरमा निर्मित फाल्चाको उद्घाटनसमेत गरे ।

नगरपालिको आर्थिक सहयोगमा सो फाल्चाको पुनःनिर्माण गरिएको हो । सो अवसरमा उनले चन्द्रागिरिको जीवन्त कला, संस्कृति तथा नाचलाई संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यसको फलस्वरुप सिकाली नाचलाई निरन्तता दिएको बताए ।

यस्तो छ सिकाली नाचको ऐतिहासिक पक्ष

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच) हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ । पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाउनुभएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ । उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।

प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरूले जात्राका क्रममा १४ देवीदेवता रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमारको नाच देखाइन्छ । यसमा नाच्ने मुख्य ४६ जना देवगणमध्ये १४ देवदेवीको भूमिकामा रहन्छन् ।

सृष्टि, स्थिति र संहारका मूलकारिणी रुद्रायणीदेवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्यभाव देवी र दानवबीचको युद्धलाई दर्शाउनुरहेको चन्द्रागिरि –८ का भुयू महर्जनले जानकारी दिएका छ । उनका अनुसार नृत्यगणमा रुद्रायणी, महादेव, गणेश, कौमारी, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, ब्याघ्रिनी, ध्वंद्यः (स्याल देवता), खिचा द्यः (कुकुर देवता), महिषासुर दैत्य र यक्ष टोली बाजासहित सरिक हुन्छन् । नृत्य टोलीमा भाग लिने सबै पात्रले मुजा परेको सेतो जामा, भोटो, पटुका, पगडी र थ्यागा ९पट्याएको पछ्यौरा० लगाएका हुन्छन् । चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजाल एवं सिकाली जात्रा व्यवस्थापन समितिका अध्यक्ष धर्मानन्द श्रेष्ठले ऐतिहासिक सिकाली नाच प्रर्दशनीका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>