चितवन विशेष
लागूऔषध दुर्व्यसनीविरुद्धको अभियानमा सेन्ट्रल कलेजको सहकार्य

चितवन, फागुन ४-
लागूऔषध दुर्व्यसनी विरुद्ध भरतपुरमा सचेतनामुलक मोटरसाइकल र्याली निकालिएको छ । गणेशस्थान टोल विकास संस्थाको आयोजना तथा लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समिति र गणेशस्थान आमा समूहको सहआयोजनामा भरतपुरका विभिन्न स्थानको परिक्रमासहित मोटरसाइकल र्याली निकालिएको हो । उक्त कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले सहकार्य गरेको हो ।
भरतपुर–११ स्थित गणेशस्थानबाट प्ले कार्डमा बाजागाजासहित निस्किएको र्याली पोखरा बसपार्कबाट नारायणगढ बजार हुँदै चौबीसकोठी, मालपोत चोकबाट नौरङ्गे र जङ्गलछेउको बाटोबाट पुनः गणेशस्थान आएर टुङ्ग्याएको थियो ।
सेचतनामुलक मोटरसाइकल र्यालीमा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलाश (वाईबी) पौडेलले समाजका लागि अतिआवश्यक अभियान भएकोले समाजमा सकारात्मक सन्देश फैलाउने काममा जोडिएको बताए । ‘विकास भनेको सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माण मात्रै होइन । लागुऔषध दुर्व्यसन न्युनिकरण गर्नु पनि विकास हो । आज धेरै युवायुवतीहरु लागुऔषधमा फस्नुभएको छ । त्यसलाई कम गर्न लागुऔषध बेचविखन तथा सेवनविरुद्ध सचेतना जगाउने अभियानमा हामी जोडिएका हौँ’, उनले भने ।
सचेतनामुलक मोटरसाइकल र्यालीका लागि सेन्ट्रल कलेजले जर्सी, व्यानर र गाडि प्रयोग गर्न दिएर सहयोग सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सेन्ट्रल कलेजले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
भरतपुर–११ मा पर्ने नवजागृति सामुदायिक वन र जलदेवी सामुदायिक वनक्षेत्रमा लागू पदार्थ दुर्व्यसनका घटना बढ्दै गएपछि त्यसलाई कम गराउनका लागि एक महिनादेखि लागूऔषध दुर्व्यसनविरूद्धको कार्यक्रम गर्दै आएको लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समितिका सचिव रेशम सापकोटाले जानकारी दिए ।
स्थानीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनका लागि बृहत् र्याली आयोजना गरिएको उनले बताए । ‘स्थानीय तहले बाहिर देखिने संरचना निर्माणमा मात्रै ध्यान केन्द्रित गरेको हामी पाउँछौँ । त्यसकारण समाजमा हुँदै आएको बेथिति र विसङ्गतिविरूद्ध पनि बजेट व्यवस्थापन गरेर समाज रुपान्तरणमा लाग्न सकिन्छ भन्ने सन्देश दिन पनि यो महाअभियान सञ्चालन गरेका हौँ’, उनले भने ।


























