चितवन विशेष
मिटरब्याज पीडितको आन्दोलनलाई एमालेले साथ दिन्छः अध्यक्ष न्यौपाने

चितवन,फागुन ३-
पूर्व र पश्चिम नेपालबाट १७ दिन लगाएर हिडेर नारायणगढ आएका मिटरब्याज पीडितहरुलाई भेटेर एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । मिटरब्याज पीडितहरुले गरेको कष्टपूर्ण आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यवद्धता साथ र सहयोग रहने एमाले अध्यक्ष न्यौपानले बताए ।
उनले राज्य कै संरक्षणमा मिटरब्याज चलाउनेहरू भएको भन्दैं सरकारले मिटर ब्याज घटनालाई गिजाल्ने प्रयास गरेको बताए । भूमिहिन, सुकुम्वासी तथा कतिपय जग्गा भएका ब्यक्तिहरुलाई ऋण दिने नाममा सर्वश्व लुट्ने काम मिटरब्याजीहरुले गरेको भन्दैं न्यौपानेले एमाले त्यस्ता प्रवृतिका विरुद्ध लड्ने बताए ।
चेतनाका हिसावले आर्थिक, सामाजिक राजनीतिक हिसावले कमजोर रहेका भूई मान्छेहरुलाई कपाली तमसुक बनाएर ठग्ने, लुट्ने काम भैरहेको छ, यो १७ औं शताब्दीको जस्तो वर्वर र अमानवीय आतंक स्वीकार्य छैन, न्यौपानले भने, मिटरब्याज पीडितको न्यायपूर्ण आन्दोलनमा साथ दिनु हरेक सचेत नागरिकको कर्तब्य हो । राज्यका विभिन्न निकायहरूले कपाली तमसुकलाई वैधानिकता दिने काम गरेर न्यायिक तथा अर्धन्यायिक निकायबाट नै पीडितलाई कहिल्यै उठ्न नसक्ने गरी प्रताडित गराइएको न्यौपानेको भनाई छ ।
मिटरब्याजीहरुले जस्तैं सरकारले पनि मिटरब्याज पीडितहरुलाई झुक्याउने, अल्मल्याउने र धोका दिने गरेको आरोप लगाउँदै न्यौपाने भने सहमती गरेका नाममा स्टण्डबाजी गर्ने, मिटर ब्याज पीडितको समस्या समाधान ग¥यौं भनेर कार्यकर्तालाई प्रचार गर्न लगाउने तर ठोस प्रगति भने केही नहुने अवस्था सरकारले नै खडा गरेको छ । विभिन्न राजनीतिक दल भित्र पनि मिटरब्याजीहरु मूल समस्याका रुपमा रहेको भन्दैं यस्ता प्रवृतिका विरुद्ध पीडितहरुले गरेको विद्रोहलाई साथ दिनुपर्ने न्यौपानेको भनाई छ ।
एमालेको समन्वयमा पीडितलाई वासको व्यवस्था
पूर्वको मेची पुल तथा पश्चिम कञ्चनपुरको गड्डाचौकीबाट गत माघ १६ गते हिडेका मिटरब्याज पीडितहरू चितवन आएका छन् । नारायणगढ आएका झण्डै ५ सय पीडितहरूलाई एमाले चितवनको समन्वयमा बासको व्यवस्था गरिएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार सबै पीडितहरुलाई उद्योग बाणिज्य संघ चितवन र जेसिजको भवनमा वासको व्यवस्था मिलाइएको छ ।
‘पीडितहरूलाई नारायणगढमा आउँदा हामीले साथ दिनुपर्छ सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ एमालेको समन्वयमा वासको व्यबस्था गरिएको छ’ न्यौपानेले भने, ‘आवश्यकता अनुसारको अन्य सहयोग पनि गछौं ।’ पीडितहरुको पदयात्रामा एमाले चितवनले ऐक्यवद्दता जनाउने अध्यक्ष न्यौपानेले बताए । मिटर ब्याज पीडित मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले एमाले चितवनले आफूहरूलाई ठूलो छाती देखाएर सहयोग गरेको बताए । ‘कतिपय ठाउँमा सडकमा हिड्दासमेत वियरका बोत्तल र ढुंगा हानियो, केहीलाई घाइतेसमेत बनाइयो’ नविनले भने, ‘चितवनमा एमालेले न्यायो आतिथ्यताका लागि समन्वय गरेको छ, खुसी भएका छौं, हाम्रा लागि पनि कोही छ भन्ने भयो ।’
























