क्रिकेट

अंकुरम र अर्किड एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटको लिगमा

Banner

चितवन, फागुन १-

अंकुरम एकेडेमी भरतपुर र अर्किड इंग्लिस स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको नकआउट खेलमा अंकुरमले ओमशान्ती एकेडेमीलाई ६ विकेट तथा अर्किडले अरोमा इंग्लिस स्कुललाई ५ विकेटले हराउदै लिग चरणमा स्थान बनाएका हुन् ।

पहिलो खेलमा भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमशान्ती एकेडेमी १८.२ ओभरमा अलआउट हुँदै ९९ रन बनायो ।

ओमशान्तीका लागि अर्जुन भन्डारी र शिशिर लम्सालले सर्वाधिक समान १८ रन बनाए । अर्जुन मनोज सापकोटाको बलमा एलबिडब्लु धरापमा परे । शिशिर इन्सिप पौडेलको बलमा विकेटकिपरद्वारा समातिदै पेभिलियन फर्किए ।

बलिङमा मनोज सपकोटा र विप्लप पोख्रेलले समान ३, इन्सिप पौडेलले २ तथा सुयोग अधिकारी र आरोहम अधिकारीले समान १ विकेट लिए ।

१०० रनको सामान्य विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरमले १७.३ ओभरमा ४ विकेट खेर फाल्दै पुरा गर्यो । अंकुरमको जितमा ओपनर अंकित बस्यालले नटआउट २९ रन बनाए । पुजन ढकालले २१ रन जोडे ।

बलिङमा कुशल शर्मा, बासुदेव सापकोटा र डेभिड माझीले समान १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका विप्लप पोख्रेल खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ९५ रनको विजय लक्ष्य पछ्याएको अर्किडले १२.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । प्रिन्स तिमल्सिनाले सर्वाधिक २५ रन जोड्नेक्रममा १ छक्का र २ चौका प्रहार गरे । १२ बलमा नटआउट २४ रन बनाएका विपिन क्षेत्रीले ३ छक्का र १ चौका हिर्काए ।
बलिङमा कृष्ण कुँवरले २ तथा सौरभ बस्नेत, आयुष कोइराला र गौतम यादवले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अरोमा १७.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । सौरभ बस्नेतले सर्वाधिक २९ रन बनाए । अभिषेक लोहनीले १३ रन जोडे ।
बलिङमा मन्दिप बरालले ४, सन्देश सुवेदी र आशिष गुरुङले समान २ विकेट लिए । ४ ओभरमा १ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिएका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच बने ।

यसैगरी प्रतियोगिताको लिग चरणमा पुग्ने १० टोलीको टुंगो भएसँगै आज नै समुह विभाजनको ड्र सार्वजनिक गरिएको छ । सार्वजनिक ड्र अनुसार समुह एमा नारायणी नमुना मा.वि, अंकुरम एकेडेमी, वाल्मिकी शिक्षा सदन, लक्ष्मी मा.वि जगतपुर र मा.वि. गंगानगर रहेका छन् । अर्किड स्कुल, विश्वप्रकाश मा.वि, इडन गार्डेन स्कुल, प्रभात मा.वि र सनराइज इंग्लिस स्कुल समुह बी मा परेका छन् ।

लिग चरणका खेलहरु फागुन ४ गतेदेखी संचालन हुनेछन् । लिगको पहिलो खेलमा नारायणी नमुना मा.विले अंकुरम एकेडेमीको सामना गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ । प्रतियोगिता मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>