नवलपरासी

घडियाल काव्य उत्सव : काव्यमार्फत प्रकृति संरक्षणको मुद्दामा छलफल

Banner

नवलपरासी, माघ २९-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीस्थित शाश्वतधाममा आयोजित तेस्रो संस्करणको घडियाल काव्य उत्सवमा संरक्षणसम्बन्धी विभिन्न चार विषयमा छलफल भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रम गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्नुभएको थियो ।

मन्त्री जिसीले घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवं नवलपुर क्षेत्रको पर्यटन र साहित्यको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमको पहिलो सत्रमा ‘नवलपुरमा पर्यटन : हिजो, आज र भोलि’ शीर्षकमा छलफल गरिएको छ । यो छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा रामचन्द्र कँडेल र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग पत्रकार विद्रोही गिरीले छलफल गर्नुभएको थियो ।

नवलपुर क्षेत्र नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यस क्षेत्रलाई प्रचारप्रसार गर्नसके चितवनको सौराहाभन्दा आकर्षक गन्तव्य बनाउन सकिने छलफलमा सहभागी वक्ताहरुको भनाइ थियो ।

त्यस्तै दोस्रो सत्रअन्तर्गत ‘पृथ्वीका अन्तिम डायनोसर घडियाल’ शीर्षकमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे र विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानसँग नेचर फोटोग्राफर सुवास अनिर्जित बस्ताकोटीले छलफल गर्नुभएको थियो ।

प्रकृतिबाट सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि सबैभन्दा पहिला पानीलाई फोहर गर्न नहुनेमा सहभागीले जोड दिएका थिए । उद्योग कलकारखानाले फाल्ने फोहर पानीलाई सिधै नदीनालामा मिसाउनु मानवीय गल्ती भएको भन्दै उहाँहरुले नदीनालालाई प्रदूषणबाट जोगाउनुपर्ने बताउनुभयो ।

त्यस्तै तेस्रो छलफलका रूपमा ‘मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता’ शीर्षकमा त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल र धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले छलफल गर्नुभयो ।

नवलपुरमा थुप्रै पर्यटकीय स्थान भए पनि त्यसलाई स्तरोन्नति गरी प्रचारमा ल्याउन नसकिएकोप्रति वक्ताहरुले ध्यानाकर्षण गराएका थिए । सङ्घीय सरकार, स्थानीय सरकार, राजनीतिक दल र पत्रकार सबैले समन्वयकारी भूमिका खेल्नसके नवलपरासीको पर्यटनलाई माथि उठाउन सकिने छलफलको निष्कर्ष थियो ।

चौथो चरणमा ‘प्रकृति, पर्यटन र साहित्य’ शीर्षकमा छलफल गरिएको छ । यो सत्रमा लेखक अमर न्यौपाने र ददी सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले छलफल गर्नुभएको थियो । लेखनका माध्यमबाट स्थान विशेषको चर्चा हुने र पाठकले त्यसलाई पछ्याउँदै आउने अमर न्यौपानेले बताउनुभयो । मदन पुरस्कार प्राप्त आफ्नो कृति ‘सेतो धरती’ पढेर स्वदेश र विदेशबाट पनि मानिस देवघाट आएको सन्दर्भ उहाँले सुनाउनुभयो ।

छलफलका क्रममा अर्का वक्ता ददी सापकोटाले प्रकृतिमा रहेर जीवजन्तु तथा चराचुरुङ्गीलाई संरक्षण गरेमात्रै पर्यटनलाई बचाउन सकिने बताउनुभयो । सापकोटाले जीवजन्तुको आनीबानी र महत्वकाबारेमा चर्चा गर्नुभएको थियो । घडियाल काव्य उत्सवको बाँकी छलफलमा काव्य वाचन, आँगनीमा लिट्–नेचर, सिने पर्यटन / नवलपरासीदेखि नवलपुरसम्म तथा गोलमेच पालिका बहस / लगाव र लगानी शीर्षकमा छलफल हुने बताइएको छ । सो उत्सव आज सम्पन्न हुने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>