क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटः लक्ष्मी र प्रभात मावि लिग चरणमा प्रवेश

Banner

चितवन, माघ २७–

लक्ष्मी मा.वि. जगतपुर र प्रभात मा. वि. शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् । आज (शनिबार) भएको खेलमा लक्ष्मीले चितवन मा.वि.लाई ५७ रनले तथा प्रभातले सिद्धार्थ मा.वि. केरुङालाई ६ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् ।

पहिलो खेलमा भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लक्ष्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनको मध्यम योगफल बनायो । लक्ष्मीको इनिङ्स ओपनर समिर गैरेले सम्हालेका थिए । ३७ बल खेल्दै ३ चौका र १ छक्काको मद्धतमा ३७ रन बनाएका उनी दिलिप कुमार यादवको बलमा सुधिर यादवद्वारा समातिए । अरबिन सुनार ११ रनमा नटआउट रहे ।

बलिङमा उमाशंकर यादवले ३, दिलीपकुमार यादव र सुधीर यादवले समान २ विकेट लिए । १ सय २९ रनको मध्यम लक्ष्य पछ्याएको चितवन ११.४ ओभरमा ७१ रन बनाउदा अलआउट भयो । चितवनका लागि हरिकिशोर शाह १० रनमा नटआउट रहे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन दोहोरो अंकमा रहेन । लक्ष्मीको कसिलो बलिङसामु चितवनका ब्याटरहरुले साझेदारी बनाउन सकेनन् ।
बलिङमा कुन्दन यादवले ४, भविन्द्र रोकायाले ३ तथा शुलभ श्रेष्ठले २ विकेट लिए । ३.४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ४ विकेट लिएका कुन्दन यादव खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ६३ रनको झिनो लक्ष्य पछ्याएको प्रभातले ७ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । प्रभातलाई जिताउन कप्तान मनिष भट्टराईले नटआउट १४ रन बनाए । बलिङमा सिद्धार्थका सम्बन्ध गुरुङले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिद्धार्थ ११.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो । सनम गुरुङले १२ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नर्मल विश्वकर्मा र सुन्दर चापागाईले समान ३ विकेट लिए । ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका नर्मल विश्वकर्मा खेलको प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा जानकी मा।वि। तेलौली र विश्वप्रकाश मा।वि। मंगलपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा स्मल हेभन मोडल स्कुल र इडन गार्डेन स्कुल आमनेसामने हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>