क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिता सुरु, नारायणी नमुना र मा.वि. गंगानगरको विजयी सुरुआत

Banner

चितवन, माघ २६–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरण आजदेखि सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा नारायणी नमुना मा. वि र मा.वि. गंगानगरले विजयी सुरुआत गरेका छन् । नारायणीले भानु मा.वि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मा.वि गंगानगरले बालकुमारी मा.वि.लाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् ।

पहिलो खेलमा भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नारायणी नमुना मा.विले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८५ रनको विशाल योगफल तयार गर्यो । नारायणीका लागि ओपनर आयुष गिरी र मध्यक्रममा राहुल कुशवाहाले अर्धशतकीय इनिङस खेले । ५९ बल खेलेका राहुलले ७ चौका र १ छक्कासहित ६९ रनमा नटआउट रहे । ५१ बल खेल्दै आयुषले ७ चौकाको मद्धतमा ५८ रन बनाए ।

बलिङमा अंकित बिश्वकर्मा र गिरी बहादुर नेपालीले समान १ विकेट लिए । १ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको भानु मा.वि पहारिलोटार ९ दशमलव ३ ओभरमा ४० रनमा अलआउट भयो ।

भानुका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भानु इनिङस ध्वस्त बनाउने क्रममा संजय यादवले ३, सन्देश खरेल, निखिल चौधरी र उमेश महतोले समान २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नारायणीका राहुल कुशवाहा भए ।

यस्तै अर्को खेलमा ३७ रनको झिनो लक्ष्य पछ्याएको मा.वि. गंगानगरले बिना कुनै विकेटको क्षतिमा ४ ओभरमा पुरा गर्यो । गंगानगरका सुजन रानाभाट १६ र राज बिश्वकर्मा १३ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बालकुमारी मा.वि. ९ दशमलव ५ ओभरमा ३६ रनमा अलआउट भयो । बालकुमारीका कुनै पनि ब्याटरले दोहोरो आँकाडामा रन छुन सकेनन् । बालकुमारीलाई सस्तैमा समेट्ने क्रममा गंगानगरका विश्वास तामाङले ४, सचिन महतोले ३ र अरुण राना मगरले २ विकेट निकाले ।

३ दशमलव ५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ४ विकेट लिएका गंगानगरका विश्वास तामाङ खेलको प्लेयर अफ द म्याच चुनिए । नारायणी नमुना मा.वि र मा.वि गंगानगर जारी एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा संचालनमा भैरहेको प्रतियोगितामा १० सामुदायिक र १० संस्थागत गरी कुल २० विद्यालयको सहभागीता रहेको छ । २२ फागुनसम्म चल्ने प्रतियोगिता नकआउट कम राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ ।

राउण्ड रोबिन लिगका लागि छानिएका १० टोलीलाई २ समुहमा विभाजन गरी आफ्नै समुहमा लिग खेलाइनेछ । मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रतियोगितामा प्राविधिक सहयोग चितवन जिल्ला क्रिकेट संघले गरेको छ ।

नकआउट चरणको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत अर्जुन कुमार मडै र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरे । उद्घाटन समारोहमा चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त पिया, भरतपुर महानगर खेलकुद समिति सदस्य दिप बहादुर पण्डितलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>