Breaking News
माधव नेपालको आलोचना गर्दै ओलीले भनेः बढ्ता जान्ने भए भड्खालामा जाकिन्छ

गौर, माघ २५–
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन् ।
एमाले रौतहटको दसौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको आरोप लगाएका हुन् । रौतहट नेपाल र अर्का नेता प्रभु शाहको गृहजिल्ला भएकोले पनि ओली उनीहरुप्रति बढी आक्रामक बनेका छन् ।
उनले अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको बताउँदै भने, ‘जनतालाई कुनै पनि राम्रो, नयाँ काम गरेको छैन । हामीले थालेका विकास–निर्माण र आयोजना अलपत्र बनाएको छ । माधवकुमार नेपाल यतातिर आएर के भन्छन्, हिजोका दिन मैले यसो अनलाइन हेरेको, केपी ओलीसँग बोलचाल बन्द…,’ उनले भने, ‘माधवकुमार नेपालसँग बोलाचाल नहुँदा हाम्रो के बिग्रिन्छ र हँ ? माधव नेपाललाई म सुझाव दिन्छु, रौतहटका जनतासँग पनि बोली बोलाचाल बन्द गरे हुन्छ । अनि के म बोलचाल गरिपाऊँ भनेर निवदेन हाल्न गएको छु ? उहाँका बारेमा केही टिप्पणी गर्नुछैन । कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ !’
नेता नेपाल विदेशीको, प्रतिक्रियावादी, पार्टी, जनता, विकास, सुशासन विरोधी, भ्रष्ट तत्वको मतियार भएको बताए । ‘तिनको सहयोगी भएर, तिनको सरकार बनाइदिएर पछिपछि हिँडेका छन् माधवकुमार नेपाल । यो पार्टीले प्रधानमन्त्री बनाएको थियो, अहिले पछिपछि हिँडेका छन्,’ उनले भने । त्यस्तै उनले आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि एमालेलाई धोका दिएको बताए । टिकट आफैंले राखेर एमाले सिध्याउने खेलमा लागेको बताए । माधवकुमार नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन सभामा अध्यक्ष ओलीले अव्हान गरे ।
























