खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशालामा प्रदेश अर्थमन्त्रीको निरीक्षण, बजेट सुनिश्चितता गर्ने आश्वासन

Banner

चितवन, माघ २२–

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई अघि बढाउन बागमती प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आर्थिक मामिला मन्त्रीले आश्वासन दिएका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको सोमबार स्थलगत निरीक्षण गरेका थिए । अवलोकन गरेपछि मन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाए । पहिलो चरणमा रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सम्झौता भइसकेको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालाका लागि छिट्टै बजेट सुनिश्चितता गरेर अघि बढ्ने विश्वास दिलाए । ‘देशकै गौरवको आयोजना हाम्रो प्रदेशमा छ । यसलाई पुरा गर्नु सबैको दायित्व हो,’ मन्त्री लामाले भने , ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ । ढुक्क हुनुस् ।’
सोही क्रममा स्वास्थ्य मन्त्री जोशीले रंगशाला निर्माणलाई गम्भिर रुपमा लिएर स्रोतको सुनिश्चितता गर्न मन्त्री लामालाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरिरहेको बताए । ‘ रंगशाला निर्माणमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ । मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ ,’ मन्त्री जोशीले भने , ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ ।’

महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्था बारे जानकारी गराएकी थिइन् । उनले बजेटको ब्यवस्था भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिने बताइन् । ‘ समग्र मुलुकको गौरवको आयोजना बजेटके कारण रोकिएको हो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठूलो आशा गरेका छौं, ’ दाहालले भनिन्, ‘ मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ ।’ उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए ।

मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, बागमती प्रदेश सभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>