समाचार
सिमसार क्षेत्र जोगाउन चुनौती

दोधारा चाँदनी (कञ्चनपुर), माघ २०-
मानव जगत्, कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सिमसार मानव जीवनको आधारका रुपमा रहेको बताउनुभयो । उहाँले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यकपर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
“सिमसार मानव जीवनको अस्तित्वसँग जोडिएको छ, वन्यजन्तुको बासस्थानमा नभई नहुने तत्व हो”, उहाँले भन्नुभयो, “सिमसार मानव जीवनको आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षसँग जोडिएको छ ।” उहाँले कतिपय समुदाय र वन्यजन्तु सिमसार क्षेत्रमै आश्रित भएको बताउनुभयो । उहाँकाअनुसार नेपालको पाँच प्रतिशत भूभाग सिमसारले ढाकिएको छ । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीविना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सो जस्तै भएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मी जोशीले बताउनुभयो । उहाँले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यकपर्ने पानीको उपलब्धता भएकाले सिमसारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
“तालतलैया, पोखरीको सांस्कृतिक महत्व छ, यो मानवीय परम्परासँग पनि जोडिएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मिचाहा प्रजातिका कारण धेरै सिमसार क्षेत्र मासिँदै गएका छन् ।” उहाँले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको जनाउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताउनुभयो । प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको वन विज्ञानमा अध्ययनरत विद्यार्थी रितु जोशी बताउनुहुन्छ । “जैविक विविधता र पारिस्थितीकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्व छ, यसको संरक्षणमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विषेश पहल गर्नु आवश्यक छ ।” कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ । रासस

























