चितवन विशेष
जनकपुरमा भएको राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनमा भरतपुरको ग्रिनल्याण्ड स्कुल विजयी

चितवन, माघ १५-
नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनमा भरतपुरको ग्रिनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ ।
जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालय विजयी भएको हो । त्यस्तै विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनमा विभिन्न जिल्लाका १२ विद्यालयका करिब २०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिगतदेखि नै शिक्षामा रुपान्तरण प्रदान गर्दै आएको विद्यालयलाई यसैवर्ष एक्जिटो इन्टरनेशन सिंगापुरले समेत ‘इन्नोभेसन स्कुल अवार्ड २०२३’ प्रदान गरेको छ । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात विद्यार्थीले विभिन्न पेन्टिङ, चुरा, तिलका लड्डुसहित खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीले तयार पारेका विभिन्न वस्तु तथा खाद्य परिकारलाई उनीहरुले त्यहीँ आयोजना गरिएको मेलामा बिक्रीसमेत गरेका छन् । विद्यार्थीले निर्माण गरेको वस्तुको प्रदर्शनी र बिक्री सहितका विभिन्न क्रियाकलापका आधारमा ग्रिनल्याण्ड पब्लिक स्कुल विजयी भएको हो ।
नविनता सम्मेलनको समापन समारोहमा पूर्वमन्त्री जुली महतो प्रमुख अथिति रहेकी थिइन् । कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर, नेपाली युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, जनकपुरधामका मेयरका प्रत्याशी शिव शंकर साह हिरा, प्रदेश कमिटी सदस्य अनिता साह, फोरम जनकपुर च्यापटरका अध्यक्ष तथा मानाष्टिक स्कुलका सञ्चालक डा. सोनु साहलगायत अतिथि रहेका थिए । समापन समारोहमा उपस्थित नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष श्रेष्ठसहित आयोजकले समापन समारोहका प्रमुख अतिथि र अतिथिहरुलाई सम्मान गरेको थियो ।























