चितवन विशेष
बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ: मेयर दाहाल

चितवन, माघ १३-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् ।
प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै मेयर दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरेकी हुन् ।
महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको मेयर दाहालले बताइन् । यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् । मेयर दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पीटुसीटु)ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरे । ‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उनले भनिन् ,‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ ।य हाँहरु खुसी भए पनि म भने खुसी छैन ।’
मेयर दाहालले पीटुसीटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । महानगरपालिकाले पीटुसीटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका ४० हजार रुपैयाँ सहयोग गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।
भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपमेयरको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरु विश्वमै संवेदनशील र जोखिम मध्येको समूहमा पर्ने बताए । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधै उच्च जोखिममा जाने हिंसा शोषण र दूरव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे । उनीहरु नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने व्यस्कले जस्तो विरोध गर्न पनि नसक्ने उहाँको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताए ।
पीटुसीटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । कार्यक्रममा पीटुसीटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष निर्देश सेढाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।
























