तनहुँ

भानुमा ‘नागरिक आवास कार्यक्रम’

Banner

तनहुँ, माघ १३-

जिल्लाको भानु नगरपालिका कार्यालयले खर तथा फुसका छानालाई विस्थापन गर्न लागेको छ । ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत खरका छाना विस्थापन गरी जस्तापाताले छाउन लागिएको हो ।

नगरपालिकामा रहेका तीन सय ३६ घरधुरीमध्ये दुई सय घरपरिवारले जस्तापाताले छाना छाउनका लागि पहिलो र दोस्रो किस्ता बुझिसकेका नगरपालिका योजना शाखाका कर्मचारी श्रवण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रु ५० हजारमध्ये पहिलो किस्तामा रु ३० हजार र दोस्रो किस्ताबापत रु २० हजार भुक्तानी गरिएको हो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभासदस्य डा स्वर्णिम वाग्लेको पहलमा चालु आर्थिक वर्षमा एक सय लाभग्राही थप गरिएको नगरपालिकाले जनाएको छ । थप भएका आवासका लागि बजेट निकासा गरिदिनका लागि नगरपालिका कार्यालयले आयोजना कार्यान्वयन इकाइ पोखरालाई पत्र पठाइएको नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिनुभयो ।

खरका छाना मात्रै नभई विपन्न परिवारका जीर्ण जस्तापाता, पानी चुहिने र जस्ता फेर्न सक्ने क्षमता नभएका व्यक्तिलाई समेटिएकाले लाभग्राहीको सङ्ख्या बढेको त्रिपाठीले बताउनुभयो । चालु आवभित्र नगरपालिकालाई खर र फुसको छानामुक्त बनाउने योजनाअनुरुप काम भइरहेको उहाँको भनाइ थियो ।

नगरपालिकामा चालु आवमा पाँच सय ३६ योजना रहेका नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधारतर्फ वडागत चार सय ७३, नगरस्तरीय ४९ र यसअघि ठेक्का आह्वान गरिएका १४ योजना गरी उक्त योजना रहेका हुन् । उक्त योजनामध्ये हालसम्म दुई सय ३७ को लागत अनुमान तयार भई ५३ योजना सम्झौता भएका छन् । केही योजनाको कार्य सम्पन्न भई भुक्तानीको चरणमा रहेको नगरपालिका कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>