चितवन विशेष
चितवनमा व्यवसायीलाई सचेत बनाउन करबारे अन्तरक्रिया

चितवन, माघ ११-
चितवनका व्यवसायीलाई करबारे सचेत बनाउन अन्तरक्रिया गरिएको छ ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आज करसम्बन्धी अन्तरक्रिया भएको हो ।
उद्योगी व्यवसायीलाई कर तथा राजश्वसम्बन्धी सचेतना दिन कार्यक्रमआयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । अन्तरक्रियामा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीले कर तिर्नु दायित्व भएको तर कर तथा राजश्व व्यवसायिक हितका लागि समेत खर्च गर्नुपर्ने धारणा राखे । उनले सरकारले लिएका करसम्बन्धी नयाँ नीतिलगायत व्यवसायीलाई परेका करसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रमक आयोजना गरिएको बताए ।
कार्यक्रमका सहजकर्ता गोपाल घिमिरेले करका दर तथा कर नीतिका बारेमा जानकारी गराउँदै व्यवसायीहरूका जिज्ञासा सम्बोधन गरेका छन् । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बिक्रेताले कुनै हिसाब किताब नराखी सामान बिक्री गरी खरिदकर्ताले कुनै गल्ती नगर्दा समेत खरिदकर्ता करमा जरिवाना तिराउने कार्य जायज नभएको र यो समस्या समधानका लागि पहल गर्न उद्योग वाणिज्य संघ–चितवन सधै लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यहरु विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिलगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।























