समाचार
अध्यक्ष भागेपछि बागलुङको इमेज सहकारीको विशेष साधारणसभा

बागलुङ, माघ ६-
इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता तथा सेयर सदस्यले शनिबार विशेष साधारण सभा गरेका छन् ।
सहकारीको भौतिक सम्पत्ति तथा रकम हिनामिना गरेर भागेका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको सम्पत्तिबाट भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने साधारण सभाले निर्णय गरेको छ । ६० प्रतिशतभन्दा बढी सेयर सदस्य बचतकर्ताको रकम फिर्ता गर्ने पहलको पहिलो खुड्किलोका रुपमा विशेष साधारण सभामा सहभागी भएको इमेल सहकारी पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । सहकारीका ८ सय १२ सेयर सदस्यमध्ये ६० प्रतिशत बढी साधारण सभामा उपस्थित रहेको उनले बताए ।
सहकारी ऐनमा बहुमत सेयर सदस्य मिलेर बोलाएको विशेष साधारण सभाले वैधानिकता पाउने उल्लेख छ । नगर प्रमुख नेपालीसहितका सञ्चालकहरु फरार भएपछि ९ महिनादेखि पीडितहरु सडक संघर्षमा छन् । उनीहरुले सहकारी रजिस्ट्रारको कार्यालय, स्थानीय प्रशासन र सहकारी बैंकसमेतको सल्लाहमा विशेष साधारणसभा गरेको बताए । ‘हामीले बचतकर्ताको रकम फिर्ता गर्ने र सेयर सदस्यलाई पनि लगानी सुरक्षित गर्ने उपायको खोजी गरेका हौं,’ पीडित संघर्ष समितिका अध्यक्ष कार्कीले भने, ‘यो पहिलो खुड्किलो हो, केही समयभित्रै अचल सम्पत्ति लिलाम गरेर भए पनि जनताको बचत फिर्ता गर्छौं ।’ उनले सबै पीडितलाई अन्तिम समयसम्म साथ दिन आग्रह गरे ।
विशेष साधारण सभामा गण्डकी प्रदेश सभाका सदस्यहरु जित शेरचन, कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, सहकारी बैंकका सञ्चालक रामबहादुर जीसी, सहकारी महासंघकी सदस्य हुमाकुमारी जीसीलगायतले बचतकर्ताको रकम फिर्ता गर्ने अभियानमा साथ दिने बताएका छन् ।
गत वैशाख ६ गते सहकारीले सूचना टाँसेर तरलता अभावले कार्यालय बन्द गरेको जनाएको थियो । जेठ ४ देखि भने संस्थापक अध्यक्ष रहेका नगर प्रमुख नेपाली फरार छन् । बचतकर्ताको १ अर्ब ५६ करोड रुपैयाँ नेपालीले हिनामिना गरेको आरोप छ ।























