चितवन विशेष

आज चितवनको न्यूनतम तापक्रम ११ डिग्री मापन, घाम नलाग्दा जाडो बढ्यो

Banner

पुजा ढकाल

चितवन, माघ ४–

चितवनमा चिसो बढेको छ ।

माघ महिना सुरु भएसँगै बिहानदेखि घाम लाग्न नसक्दा, हुस्सु लाग्दा र चिसो हावा चल्दा जिल्लामा चिसो बढेको हो ।

भरतपुर विमानस्थलले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार आज बिहान जिल्लाको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस मापन भएको थियो भने आज दिउँसोको तापक्रम १५ डिग्री रहेको छ । यो दिउँसो ४ बजे मापन भएको तापक्रम हो ।

त्यस्तै, हिजो माघ ३ गते जिल्लाको तापक्रम १० डिग्री रहँदा २ र १ गते पनि जिल्लाको तापक्रम १० डिग्री नै मापन भएको भरतपुर विमानस्थलले जानकारी दियो । तर, माघ महिनाको सुरुवातको दिन बढी चिसो भएको अनुभूति गरिए पनि जिल्लाको सबै भन्दा कम तापक्रम पुसमा मापन भएको थियो । विमानस्थलले दिएको जानकारी अनुसार पुस १९ गते जिल्लाको तापक्रम ९ डिग्री रहेको थियो । जुन अहिलेसम्मको कम तापक्रम हो ।

जाडोसँगै बाक्लो हुस्सु लागेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

देशभरको मौसम

ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगाका पहाडी भेगमा हल्का वर्षा भएको छ । आज पनि कोसी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै एक–दुई दिन हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ध रोजन लामिछानेले बताए ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ । महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।
आज काठमाण्डौ उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलब ६ डिग्री मापन गरिएको छ । यस्तै जुम्ला, जोमसोम, डडेल्धुरा, जिरीलगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलब ९ डिग्री, जोमसोमको माइनस चार दशमलब छ डिग्री, डडेल्धुराको ३ दशमलब ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलब २ डिग्रीमा झरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>