Breaking News
चितवनमा तोरीखेतीमा किसानको आकर्षण बढ्दो, गत वर्षभन्दा सात हजार बढी हेक्टरमा खेती

निरुता बि क
चितवन, माघ ४-
चितवनका किसान तोरी खेतीमा आकर्षित बन्दै गएका छन् ।
कम लगानी, छोटो बाली, बजार भाउ राम्रो र जङ्गली जनावरले क्षति नपुर्याउने भएकाले यस क्षेत्रका कृषकहरुको तोरी खेतीमा आकर्षण बढदै गएको हो ।
कृषि ज्ञान केन्द्र चितवनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७\७८ मा १२ हजार २६० क्षेत्रफलमा तोरी खेती गरिएको थियो भने १२ हजार २१८ मेट्रिक टन तोरी उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८\७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा तोरी खेती र १४ हजार ७१८ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९\८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको र १९ हजार १९४ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क कार्यलयले जनाएको छ । चालु आर्थिक वर्ष २१ हजार ८५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको र २८ हजार ४०५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले जानकारी दिए ।
तोरीखेतीलाई प्रवद्र्धन एवम् प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले अनुदानको कार्यक्रमलाई निरन्तरता दिइरहेको सूचना अधिकारी अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम, तोरी ब्लक विकास कार्यक्रम, मल, बिउ, विषादी, वितरण, विषादी छर्नको लागि आवश्यक पर्ने सामग्रीलगायत किसानलाई अनुदानमा दिएको जानकारी दिए । उनले भने, ‘चितवनमा तोरी खेती प्रति किसानको आकर्षक बढ्दो छ । गत वर्षको तुलनामा यस वर्ष तोरी धेरै लगाइएको छ र तोरी पनि गत वर्षको भन्दा यो वर्ष बढी उत्पादन हुने अनुमान गरेका छौँ ।’
उनले यस वर्ष तोरीमा रोगहरु देखा नपरेको, मौसम प्रतिकुल भएर गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादन बढ्ने अनुमान गरेको बताए । उनले भने, ‘जङ्गली जनावरले तोरी खेतीमा क्षति गर्दैन । उनीहरुले तोरी खादैनन् । कम सिँचाइमा पनि खेती गर्न सकिन्छ । यो छोटो बाली अन्तर्गत पर्छ र लगानी पनि कम लाग्ने हुँदा किसान तोरीखेती प्रति आकर्षित भएका छन् ।’ कम लगानी, कम सिँचाई, छोटो बाली र जङ्गली जनावरले तोरीखेतीमा क्षति नगर्ने भएकोले किसान पछिल्लो समय यता तोरीखेती प्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ । उनले चितवनमा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ती, माडीमा धेरै तोरी उत्पादन हुने बताए ।
माडी नगरपालिकाका–३ का किसान उमप्रकाश महतोले १० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेका छन् । उनले बिगत १२ वर्षदेखि तोरीखेती गर्दै आएको सुनाए । उनले भने, ‘मैले १२ वर्ष देखि तोरी खेती गर्दै आएको छु । यो वर्ष १० कठ्ठा क्षेत्रफलमा तोरी खेती गरेको छु । पाँच किवन्टल तोरी उत्पादन हुने अनुमान गरेको छु ।’ उनले माडीका किसान तोरी खेतीप्रति आकर्षित भएको बताए । उनले माडीमा मात्र ८० बिघामा किसानले तोरीखेती गरेको जानकारी दिए । उनले भने, ‘माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । जसकारण जङ्गलको आसपासमा पनि तोरीखेती गरिएको छ । तोरीलाई जङ्गली जनावरले क्षति पनि पुराउँदैन र कमसिँचाइमा पनि खेती गर्न सकिन्छ ।’
पहिला गहुँ लगाउने किसानहरू तोरीखेती तर्फ आकर्षित भएका कारण तोरीखेती गर्ने किसान बढेको र कम लगानी, कम सिँचाइ, छिटो उत्पादन लिने बाली भएको र जङ्गली जनावरले क्षति नपुर्याउने भएकोले तोरीखेतीमा कृषक आकर्षित भएको उनले बताए । उनले भने, ‘तोरीखेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।’ उनले तोरीखेतीलाई प्रवद्र्धन एवम् प्रोत्साहन गर्नको लागि कृषि ज्ञान केन्द्रले अनुदान दिँदै आएको जानकारी दिए । तोरीलाई चाहिने मल, सिँचाइका सामग्री, बिउ, विषादी, विषादी छर्ने स्प्रे ट्याङ्कीलगायत सामग्रीहरु बितरण गरेको उनले जानकारी दिए ।
खैरहनी नगरपालिका–१० समनपुरका किसान नविनकुमार श्रेष्ठले १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको सुनाए । उनले बिगत १२ वर्षदेखि तोरीखेती गर्दै आएको बताए । उनले भने, ‘मैले १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको छु । अरु बालीको भन्दा तोरीको बजार भाउ राम्रो छ । छिटो उत्पादन हुन्छ र लगानी पनि कम लाग्छ । जसकारण मैले तोरीखेती गरे ।’ उनले नगरपालिकामा मात्र ९० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा तोरीखेती हुने गरेको जानकारी दिए ।
जङ्गली जनावरले खासै नोक्सान नपुर्याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरीखेतीमा आकर्षित भएका हुन् । उनले भने, ‘तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपराउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन् ।’ उनले गतवर्ष पनि १६ कठ्ठाक्षेत्रफलमा तोरी खेती गरेको बताए । जसमा–६ क्विन्टल तोरी उत्पादन भएको सुनाए । उनले भने, ‘गत वर्षको भन्दा यस वर्ष तोरी उत्पादन अलि घट्ने अनुमान गरेको छु । किनभने यस वर्ष बजार सुस्त छ । तोरीले बजार नपाउने होकी भन्ने डर लागेको छ ।’उनले आर्थिक मन्दीका कारण तोरीले बजार नपाउने होकि भन्ने लागेको बताए ।
तोरीखेतीलाई आर्कषित गर्नको लागि कृषि ज्ञान केन्द्रले किसानको मागअनुसार कृषिबालीमा आवश्यक पर्ने विभिन्न किसिमका अनुदान दिदैँ आएको बताए । जसमा तोरीको बिउ, सुक्ष्म खाद्य तत्व, स्प्रे ट्याङ्की, त्रिपाल, डिजिटल काटा, रोटा भेटर, सिँचाइका सामग्रीलगायत बितरण गर्दै आएको बताए ।
























