खेलकुद
मेसी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं, माघ २-
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।
यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।
मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।
मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।
बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् । यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो ।
इडरसन २३ अङ्कका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अङ्क) र यासिन बौनु (१६ अङ्क) मा सिमित भएका थिए । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।























