Breaking News
भरतपुरको गोलाघाटमा कुमालहरुको देशकै ठूलो मेला, मौलिक भेषभुषाको प्रदर्शन

चितवन, माघ १-
कुमालको पहिचान र संस्कृतिको संरक्षणको लागि कुमाल समाज नेपालले देशमै पहिलोपटक सबैभन्दा ठूलो मेला मेघौलीस्थित गोलाघाटमा आयोजना गरेको छ ।
पुस २८ गतेबाट सुरु भएको मेला आज प्रकृतिको पूजासँगै समापन हुँदै छ । कुमाल समुदायले माघेसङ्क्रान्तिलाई माघे सक्राती भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर (विशाल) कुमालले बताए । राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमालहरुलाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण चलिरहेको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।

मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सक्राती कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको तत्कालीन उनले बताए । चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उनले बताए ।
कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिब करिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवद्र्धनका लागि पनि यो मेला विशेष हुने उनी बताउँछन् । कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको पाइएको छैन ।
नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे संक्रान्ति दसैँ, तिहार भन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वको बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्व आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७० वटा जिल्लामा बसोबास गर्छन् । २०७८ को जनसांख्यिक आँकडाअनुसार एक लाख २९ हजार ७०२ जना रहेको छ । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै ६ हजार कुमाल समुदायका मानिसहरु सहभागी भएका छन् । आज कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाएपछि घरमा आइ पितृको नाममा पानी चढाए । त्यस्तै कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइएको कुमाल समाज नेपालले जनाएको छ । आज माघे संक्रान्तिको दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पूजिएको छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जसता मिठामिठा परिकार तथा प्राकृतिक फल खान दिइएको छ ।


























