देश/प्रदेश

तीन लाख ऋण लिँदा एक बिघा दुई कट्ठा ६ धुर जग्गा र घर हत्याइयो, फिर्ता माग्दा खुकुरी देखाइयो

Banner

सिराहा,पुस २५-

साहुकारले षड्यन्त्रपूर्वक हडपेर बेचेको घरजग्गा फिर्ता माग्दा सिराहाको कल्याणपुर नगरपालिका– ८ अरङका मिटरब्याजपीडित सञ्जयकुमार कामतीमाथि कुटपिट गरिनुका साथै ज्यान मार्ने धम्की दिँदै खुकुरी तेस्र्याइएको छ । स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भतिज पर्ने नितेशले सोमबार दिउँसो ‘यहीँ ढालिदिन्छु’ भन्दै खुकुरी उज्याएका हुन् ।

खुुकुरी छेक्ने क्रममा टाउकोमा सामान्य चोट लाग्नुका साथै कुटपिटले शरीर थिलथिलो भएका कामती मंगलबार सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार गराई गाउँ फर्किएका छन् । चिकित्सकले केही दिन औषधि सेवन गर्नुका साथै आराम गर्न भनेको उनले बताए । कामतीले ०७२ माघमा घर–व्यवहारका लागि कल्याणपुर– ८ मझाउका लेखापढी व्यवसायी सुरेश पञ्जियारसँग तीन लाख ऋण लिएका थिए । पञ्जियारले कामतीको एक बिघा एक कट्ठा खेत, एक कट्ठा ६ धुर घडेरी र टिनको छाना भएको ११ कोठाको एकतले घरसहितको जग्गा दृष्टिबन्धक राखेका थिए । सँगै, चार लाख ८० हजार र सात लाख ५० हजार गरी १२ लाख ३० हजारका दुईवटा कपाली तमसुक बनाएका थिए ।

समयमा ऋण तिर्न नसकेपछि कामतीले ‘घर–व्यवहारको काम सल्टाएपछि ब्याजसहित तिर्छु’ भन्दै पञ्जियारलाई गुहारिरहेका थिए । तर, साहुकार पञ्जियारले षड्यन्त्रपूर्वक लेनदेन मुद्दामा सिराहा जिल्ला अदालतबाट ०७८ माघमा डाक लिलाममार्फत घरसहित करिब डेढ करोडबराबरको जायजेथा आफ्नो नाममा ल्याए । सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधानको पहल गरेपछि कामतीले पञ्जियारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिरटब्याज)सम्बन्धी उजुरी दिएका थिए । त्यसमा एक–दुईपटक छलफल पनि भएको थियो । तर, त्यहीबीचमा आफूबाट हत्याएकोमध्ये १० कट्ठा खेत र घरसहितको १६ धुर घडेरी पञ्जियारले स्थानीय रामनारायण सिंहलाई सस्तोमा बेचेको कामतीले बताए ।

पञ्जियारले घरजग्गा हत्याएपछि कामती भने धनुषाको जनकपुरमा डेरामा बस्न थालेका थिए । उनका बाबु उत्तिम कामती र आमा पवित्रीदेवी भने गाउँकै घरमा थिए । तर, सिंहले जग्गा किनेपछि उनीहरूलाई पनि सामानसमेत निकाल्न नदिई केही महिनाअघि हतियार देखाएर घरबाट निकाले । त्यसपछि आमाबुबालाई पनि जनकपुरकै डेरामा लगेका थिए । १०८ वर्षीया हजुरआमा रेविया गाउँमै कान्छो छोरा सगम कामतीसँग बस्थिन् ।

गत ९ पुसमा हजुरआमाको निधन भएपछि दाहसंस्कार र काजकिरियाका लागि कामती बुबाआमासहित परिवारका सबै गाउँ आए । काजकिरियाको काम सकिएपछि २१ पुसमा साहुकारले षड्यन्त्रपूर्वक हडपेको जग्गाबारे गाउँलेसहित बसेर छलफल गरे । जहाँ साहुकार पञ्जियार र उनीबाट जग्गा खरिद गर्ने सिंहसमेत उपस्थित थिए । ‘काकाकै आँगनमा सबै बसेर साहुकार सुरेश पञ्जियारले हत्याएर पछि रामनारायण सिंहले किनेको भनिएको घरजग्गाबारे छलफल भयो । गाउँलेले अदालतको डाक लिलाममार्फत लिएको घरजग्गा चलनचल्तीको मूल्यमै भए पनि मलाई फिर्ता गर्न आग्रह गरेँ, तर पञ्जियारले ‘मैले बेचिसकेको छु, फिर्ता गर्न सक्दिनँ’ भने । सिंहले पनि घरजग्गा किनेको हुँ भन्दै छाड्न मानेनन्,’ पीडित कामतीले भने ।

कामतीले जिल्ला प्रशासनमा दिएको उजुरीमा छानबिनकै क्रममा रहेका वेला पञ्जियारले जग्गा बेचेका थिए । त्यसको जानकारी आफूले पाँच–सात महिनाअघि मात्रै थाहा पाएको कामतीले बताए । ‘सोमबार दिउँसो करिब ३ बजेतिर ठूलो परिवारसहित डेरामा बस्न गाह्रो भयो । उजुरीबारे जे निर्णय हुन्छ, त्यहीअनुसार गर्छु । त्यतिञ्जेल म आफ्नो घरमा बस्छु भनेर म र मेरो भाइ राजकिशोर गयौँ । आँगनमा बार लगाइएको बाँसको टाट हटाउन खोज्दा दक्षिणपट्टि टाँसिएकै घरमा बस्ने रामनारायण सिंह गालीगलौजसँगै खुकुरी उज्याउँदै यहीँ ढालिदिन्छु भन्दै आए,’ कामतीले भने, ‘पछिपछि उनका छोरा शैलेन्द्र र भतिज नितेशसमेत आएर गालीगलौज र कुटपिट गरे ।’

कामतीको कठालो समात्दै खुकुरी ठड्याएको देखेर बाटोमा हिँड्ने बटुवासमेत उभिएर हेर्न थाले । ‘जालझेल गर्दै जायजेथा खोसेर सुकुमवासी बनाउन खोजेको मलाई मार्छौ भने मार भन्दै मैले पनि प्रतिवाद गरेँ । गालीगलौज, कुटपिटसँगै पटक–पटक खुकुरी उज्याउँदै प्रहार गर्न खोजियो,’ कामतीले भने, ‘उजुरीको फैसला नहुञ्जेल बस्न दिनुस् भन्दै गएको थिएँ, ज्यान नै लिन खोजियो ।’ निकैबेर वादविवाद चल्यो । मान्छेहरू धेरै जम्मा हुन थालेपछि सिंहको हातबाट उनकी बुहारीले खुकुरी खोसेर लिएर भित्र लगिन् ।

खुकुरी उज्याएर ज्यान मार्ने धम्की दिने सिंह पक्राउ
सञ्जयकुमार कामतीलाई खुकुरी प्रहारको प्रयास गर्ने रामनारायण सिंहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोहरूमा खुकुरी उज्याएको देखिएपछि सिंहलाई अरङस्थित घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए । पीडितबाट उजुरी नआए पनि खुकुरी उज्याएको फोटो र भिडियोको आधारमा नियन्त्रणमा लिएको र पीडितले उजुरी दिएपछि थप कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>