राजनीति
दुई सिट दिने भनेपछि भूसाललाई नेपालको प्रश्नः के गठबन्धन छोड्ने त ?

काठमाडौं, पुस २२-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले असन्तुष्टि जनाउँदै महासचिव घनश्याम भूसाललाई के गठबन्धन छोड्ने त भन्दै प्रश्न गरेका छन् ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा समाजवादीलाई दुई सिट मात्रै दिने भनेपछि अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई उसो भए के गठबन्धन छोड्ने त ?भनेर सोधेका थिए। भूसालले तीन सिटभन्दा तल झर्न नसकिने जवाफ दिएका थिए।
‘हामी राजनीतिक प्राणी हौं। राजनीतिक रूपमा चुनाव लड्न सक्छौं,’ भूसालका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
तर कांग्रेस नेता रमेश लेखकले भने कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति जुटेको दाबी गरेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादीले एकीकृत समाजवादीलाई दुई सिट मात्र दिन सकिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट जनाएर बैठक छाडेका थिए।

























