अन्तर्राष्ट्रिय

किमसँग देखिइरहने छोरी उनकी सम्भावित उत्तराधिकारी

०
Banner

सउल, पुस २०-

दक्षिण कोरियाको गुप्तचर एजेन्सीले उत्तर कोरियामा नेता किम जोङ उनको मृत्युपछि उनकै कान्छी छोरी उत्तराधिकारी बन्ने खुलासा गरेको छ। ‍

उत्तर कोरियाले गर्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षणदेखि विभिन्न सार्वजनिक समारोहमा समेत किम जोङ-उनसँगै देखिने बालिका किमको उत्तराधिकारी बन्न सक्ने सम्भावना रहेकोबारे बिहीबार दक्षिण कोरियाली गुप्तचर एजेन्सीले त्यहाँका सांसदहरूलाई जानकारी गराएको हो।

द न्युयोर्क टाइम्सका अनुसार उत्तर कोरियाले किमकी छोरीको नाम र उमेर लगायतका कुनै पनि व्यक्तिगत विवरण खुलाएको छैन। तर दक्षिण कोरियाली अधिकारीहरूले उनलाई किम जु-ए भनेर चिनाएका छन् र उनी लगभग १० वर्षकी भएको बताएको छ।

‘अहिलेसम्म, किम जु-एलाई सबैभन्दा सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको छ,’ दक्षिण कोरियाको मुख्य सरकारी जासूस एजेन्सी राष्ट्रिय खुफिया एजेन्सीले राष्ट्रिय सभाका सदस्य मार्फत बिहीबार जारी गरेको मूल्याङ्कनमा भनेको छ।

एजेन्सीले विधानसभाको खुफिया समितिका सदस्य युन कुन योङका प्रश्नहरूको लिखित जवाफ दिने क्रममा सो कुरा समावेश गरेको हो।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार जु-ए भन्दा सानो किमको अर्को सन्तान थियो। उनीहरूले गोप्य सूचनाको हवाला दिँदै किमको जु-ए भन्दा ठूलो छोरा पनि हुन सक्छ भनेका छन्। तर हालसम्म सार्वजनिक रूपमा देखा परेको किमको एक मात्र सन्तान जु-ए हुन्।

उत्तर कोरियाको सरकारी मिडियाले उनलाई किमको ‘सबैभन्दा प्यारो’ वा ‘सम्मानित’ सन्तानका रूपमा उल्लेख गरेको छ र सैन्य जनरल र अन्य उच्चस्तरीय अधिकारीहरूले उनको अगाडि घुँडा टेकेको देखाएको छ।

त्यस्ता दृश्यहरूका आधारमा बाहिरका विश्लेषकहरूले उनलाई विभिन्न स्वास्थ्य समस्याले ग्रस्त किमले आफ्नो उत्तराधिकारीका रूपमा हुर्काइरहेको भनी अनुमान गरेका छन्। उत्तर कोरियामा राजतन्त्र होइन, तर दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै त्यहाँ किमवंशको शासन छ।

भन्नका लागि यसको शीर्ष नेता सत्तारुढ वर्कर्स पार्टीको महाधिवेशनबाट चुनिन्छ। वास्तविकतामा, भने किमहरूले स्थापना गरेदेखि नै उत्तर कोरियालाई निजी पारिवारिक व्यवसाय जसरी चलाइरहेका छन्।

किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इल दुवैले आफ्नो मृत्यु नभएसम्म शासन गरे। किम जोङ उनले सन् २०११ मा आफ्ना बुबा किम जोङ-इलको मृत्युपछि पदभार ग्रहण गरेका थिए।

गोप्यतामा लुकाइएको किम परिवारमा उत्तराधिकारी को हुन्छ भनी अनुमान गर्न धेरै गाह्रो हुन्छ। धेरै बाहिरका विश्लेषकहरूले लामो समयदेखि किम जोङ-उनका दुई दाजुहरूमध्ये एकले आफ्नो बुबाको स्थान लिनेछन् भनेर अनुमान गरेका थिए।

तर उत्तर कोरियाले २००८ मा किम जोङ-इललाई स्ट्रोक भएपछि एक्कासी किम जोङ उनलाई उत्तराधिकारी भनेर घोषणा गरेको थियो।

जु-एले किम पछि शासन गरिन् भने गहिरो पितृसत्तात्मक र पुरुष प्रधान उत्तर कोरियाको पहिलो महिला शासक हुनेछिन्। एजेन्सी/तस्बिरः द न्युयोर्क टाइम्स

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>