समाचार

भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

Banner

गोदावरी (कैलाली), पुस १९-

सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको छ ।

विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।

हालसम्म पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको अस्पतालले जनाएको छ । निर्माण कम्पनीले हालसम्म ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिनुभयो । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।

सो भवन निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गर्दा ठेकेदार कम्पनीले दई महिनाभित्रै भवन हस्तान्तरण गर्ने जनाएको थियो । तर सो म्याद गुज्रिदा पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुन खोजेको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिनुभयो । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५-२० प्रतिशत काम बाँकी रहेको छ ।

भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उहाँको भनाइ छ । समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शुन्य दशमलव शुन्य पाँच प्रतिशत दैनिक जरिवाना गरिँदै आएको जनाइएको छ । भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिनुभयो । भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नाका कारण दुवै भवनमा ठाउँ अभाव रहेको उहाँको भनाइ छ ।

अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियु र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । प्रदेशको ‘रिफरल’ अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्तापलले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>