कृषि

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित

Banner

त्रिशूली (नुवाकोट), पुस १९-

नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन किसानलाई बुधबार नगद रु २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट विदुर–५ पिपलटारका भँैसीपालक किसान तिलकुमारी न्यौपाने, शिवपुरी गाउँपालिका–१ का बाख्रापालक किसान धनकुमारी गुरुङ र स्ट्रबेरी उत्पादक ककनी गाउँपालिका–२ का अष्टलाल तामाङ हुनुहुन्छ । यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का स्याउ उत्पादक किसान ग्याल दोर्जे तामाङ, उत्तरगया गाउँपालिका–२ का स्याउ उत्पादक र पाशुपालक किसान हीरबहादुर तामाङ र नौकुण्ड गाउँपालिका–६ का तारकारी उत्पादक पेम्बा तामाङलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सम्मान गरिएको हो ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिनुभयो । सम्मानित हुने किसान अधिकांश युवा छन् । उनीहरुमार्फत अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना किसान बनेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नतर्फ लाग्न कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनाल आग्रह गर्नुभयो ।

नुवाकोट र रसुवा जिल्लाबाट छानिएका किसानलाई कृषि ज्ञान केन्द्रले बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएका किसानले केन्द्रीयस्तरको प्रतिस्पर्धामा छनोट हुन पाउने छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>