समाज

जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम

Banner

वीरगञ्ज (पर्सा), पुस १८-

जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वनमा घेरवार नहुँदा दिनहुँ जङ्गली जनावरले बालीनली नष्ट गर्ने गरेको उहाँको भनाइ छ ।

जङ्गली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दैआएको जिराभवानीका शङ्कर महतो बताउनुहुन्छ । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उहाँले बताउनुभयो । बर्सेनि जङ्गली जनावरले बालीनालीमा क्षति पुर्याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेको किसानको गुनासो छ ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>