चितवन विशेष
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन गरिने

चितवन, पुस १८-
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ ।
रंगरोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९०० लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको हो ।
रंग खरिदका लागि पाँच लाख ९९ हजार ४०० खर्च भएको महानगरले जनाएको छ । रङलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्वअन्तर्गत रंग लगाउने कार्य गर्ने छ । करिब एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने छ ।
रङ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकी मेयर दाहालले भरतपुर सहरको सौन्दर्यकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताइन् । मेयर दाहालले विकास र समृद्धिको यात्रामा भरतपुरले फड्को मारेको र आशा लाग्दो ढंगबाट विकास र पूर्वाधारका दृष्टिले उत्कृष्ट महानगरका रुपमा अगाडि लम्किएको उल्लेख गरिन् ।
महानगरपालिकालाई हरियाली, सरसफाइयुक्त र उज्जयालो सहर निर्माण गर्ने काम अनुरुप पहिलो चरणको स्मार्ट लाइट जडान गर्ने कार्य भई दोस्रो चरणको स्मार्ट लाइट जडानको कार्य अघि बढ्न लागेको जानकारी दिइन् । महानगरले चोक सुधार कार्यक्रम, सडकहरुलाई मार्किङ गर्ने, चौतारा मर्मत सम्भार, आवश्यक पूर्वाधार थप गर्ने लक्ष्य राखेको मेयर दाहालको भनाइ छ । महानरपालिकाले भरतपुरमा निर्माण भइसकेका सडकलाई हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्यलाई पनि प्राथमिकताको साथ अगाडि बढाइरहेको छ ।

























