Breaking News

चितवनको इच्छाकामानामा आजदेखि सुन्तला महोत्सव सुरु, सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न प्रस्ताव

Banner

चितवन, पुस १६-

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर माझगाउँमा सुन्तला महोत्सव सुरु भएको हो । सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन कृषि मन्त्री डा.बेदुराम भुसालले गरे ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री भूषालले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन् । नेपालको उत्पादन भएको सुन्तला चीनमा बिक्रि गर्ने योजना समेत रहेको उनले बताए । ‘बिक्रिको चिन्ता नगर्न अनुरोध छ । हामीले चीनसंग सम्झौता गरेका छौँ, उनले भने,यो साल चीनमा निर्यात गर्न नसकिएला । हामी भन्सारको प्रकृयाकै क्रममा छौँ । अर्को सिजनमा पठाउन सक्छौँ ।’

उनले इच्छाकामनाको सुन्तलाको प्रचार हुन नसकेको समेत बताए । ‘राजमार्गमा हिड्दाखेरी धेरै ठाउँमा मनकामनाको सुन्तला भनेर किनेर खान्थ्यौँ । यहाँ आएर हेरेपछि के लाग्यो भने त्यो सुन्तला यहाँको (इच्छाकामाना) पनि रहेछ,’ उनले भने ‘इच्छाकामनाको सुन्तलालाई ब्राण्डिङ गर्नुप¥यो ।’ उनले चितवनको सुन्तला काठमाण्डौँमा सहजै लैजान सकिने बताए । नेपालमा उत्पादन भएको अवस्थामा बाहिरी मुलुकबाट हुने आयातलाई रोक्ने उनले आश्वासन दिए । महोत्सवमा विज्ञहरुलाई बोलाएर रोगको अनुसन्धान गर्न समेत आयोजकलाई सुझाव दिएका छन् ।
महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरे १० करोड आम्दानी गर्ने अनुमान गरिएको उनले बताए । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो ७५ देखि ९० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।

महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिएको छ । महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,गाउँपालिका उपप्रमुख माया सिलवाल, गाउँपालिका निर्वमान अध्यक्ष गीता गुरुङ, गाउँपालिकामा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>