Breaking News
केपी ओलीको राजावादीलाई प्रश्न: सिक्किममा राजा हुदा देश बचेन, भ्रममा नपरौं

काठमाडौं, पुस १६-
नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले सिक्किममा राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नागरिक सर्वोच्चता छाडेर व्यक्तिको सर्वोच्चता सचेत मानिसले नमान्ने बताए ।
उनले जन्मँदै राजा हुने प्रथा अन्धविश्वासको पराकाष्ठा भएको टिप्पणी गरे। ‘कसैकसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ अध्यक्ष ओलीले भने, ‘भारतमा लगभग ५६५ रजौटा थिए । ५६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि ! राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ ? राजा हुँदा देश बँच्दो रहेछ त ?’ उनले देश जनताले बचाउने हो कि राजाले हो भन्दै प्रश्न पनि गरे।
‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त तथ्यले पुष्टि गर्न नसक्ने सिद्धान्त हो । कुनै तर्कमा आधारित नभएको तर्कहीन पाखण्डी सिद्धान्त हो,’ उनले भने ।
























