समाचार

राजेशपायल राई सिक्किम जान रोकिए

०
Banner

काठमाडौं, पुस १५-
सांगीतिक कार्यक्रममको लागि सिक्किम जान लागेका गायक राजेशपायल राई रोकिएका छन् । सिक्किममा उनलाई बहिष्कार गर्ने चेतावनी दिइएको थियो ।

सिक्किमको पेलिङ गाल्सिङ जिल्लामा आज आइतबार अर्थात् डिसेम्बर ३१ मा कञ्चनजञ्घा विन्टर टुरिज्म फेस्टिभल आयोजना गरिएको छ । यसमा राजेशपायल पनि निम्त्याइएका थिए । तर, सामाजिक सञ्जालमा उनीविरुद्ध केही आक्रोशित टिप्पणीहरुका कारण भ्रमण रद्द भएको निकट स्रोतले बतायो । आयोजकले नै उनलाई नआउन आग्रह गरेको हो वा उनी आफैंले हात झिकेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

यो लफडाको जरो चाहिँ केही महिना अघिको एउटा सन्दर्भसँग जोडिएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा गत असार २३ गते हात्तीवन किराँत माङहिम परिसरमा भएको एक वृक्षारोपण कार्यक्रममा राजेशपायल पनि उपस्थित भएका थिए । वृक्षारोपण सकिएपछिको औपचारिक कार्यक्रममा राजेशपायलले अनायाश जंगिए ।

जब उनलाई बोल्नका लागि आग्रह गरियो, राजेशपायलले कार्यक्रमस्थलमा टाँगिएको एउटा ब्यानरमाथि आपत्ति प्रकट गरे । उक्त ब्यानर नउतारेसम्म नबोल्ने अडानसमेत लिए ।

यो वृक्षारोपण कार्यक्रमको आयोजना सानो हात्तिवन किराँत माङहिम व्यवस्थापन समिति, किराँत याक्खा छुम्मा केन्द्रीय समिति, सुनवार सेवा समाज संघीय समिति र किरात याक्युङ चुम्लुङ संघीय समितिले संयुक्तरुपमा गरेका थिए ।

यी चार संस्थाबाहेकको एक ब्यानर टाँगिएको थियो( हेभनली पाथको । राजेशपायलले देख्न नचाहेको ब्यानर यही नै थियो । उनले कडा अडान लिएपछि ब्यानर हटाइयो र कार्यक्रम सुचारु भयो । तत्कालै ब्यानर झारिएपछि विवादले ठूलो रुप लिएन ।

तर, जब यो भिडिओ बाहिर आयो, राजेशपायल विवादमा परे । राई समुदायभित्रैका हेभनली पाथका अनुयायीहरु उनीसँग रिसाए । यसको तरंग सिक्किमसम्म पुग्यो । फलस्वरुप त्यहाँ राजेशपायलको विरोध सुरु भएको हो ।

सिक्किमका हेभनली पाथमा विश्वास राख्ने केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राईको चर्को विरोध गर्दै स्टाटस लेखेका हुन् । आयुस बान्तवा राईले राजेश पायल राईको तस्बिर राखेर लेखेका छन्, ‘राजेश पायल राई सिक्किम आए हामी हेभेन्ली पाथका युवाहरुले उग्ररुप लिनेछौँँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>