समाचार
सबै सहकारी खराब छैनन्ः उपसभामुख राना

काठमाडौँ, पुस १४-
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताउनुभएको छ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताउनुभयो ।
कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानाले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । उहाँले तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना शेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा गर्नुभयो ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताउनुभयो । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना शेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा पुर्याएको आफूले पाएको उहाँको भनाइ थियो ।
सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरण हेर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो ।























