समाचार
रविका १० प्रश्नमा परेन सहकारी पीडितका मुद्दा

चितवन, पुस १४-
चितवनमा साहारा चितवन बहुँउद्देश्य सहकारी पीडितको संख्या आठ हजार भन्दा बढी छ । बचत कर्ताको करिव ८५ करोड रुपैयाँ यस सहकारीमा फसेको छ । तर, आफु नै निर्वाचित भएको चितवन क्षेत्र नम्बर दुईमा मुख्य कार्यालय रहेको साहारा सहकारी पीडितको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मौन जस्तै छन् । शनिवार सरकारलाई गरेको दश प्रश्नमा पनि सहकारी पीडितको समस्याका बारेमा उनले कतै उल्लेख गरेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा बेथिति मौलाएको भन्दै सरकारसँग प्रश्नको जवाफ माग गरेका छन् । लामिछानेले सरकारलाई सामाजिक सञ्जालमार्फत प्रश्न राख्दै जवाफ मागेका हुन् । लामिछानेले विभिन्न घटनामा सरकारले संरक्षण गरेको आरोप समेत लगाए ।
सभापति लामिछानेले सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड भन्दै प्रश्न गर्दै लामिछानेले लेखेका छन्– ‘हुँदा हुँदा, पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ? पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भएको बताउँदै दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ? भन्दै उनले प्रश्न गरेका छन् ।
‘पुत्ला जलाएर होइन, पुत्ला सजाएर प्रश्न गर्छौ,’ लामिछानेले लेखका छन्, ‘ रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।’ देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको लामिछानेले बताए।
लामिछानेले सरकारसँग जवाफ मागेका प्रश्न निम्नानुसार छन्।
–नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
– ललिता निवास काण्डमा दोषी उम्काउने ?
– सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
–एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?
– टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?
–वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
– नारायणघाट –बुटवल, मुग्लिन– पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
– प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?




















