चितवन विशेष
भरतपुर महानगरका एक हजार बालबालिकालाई बाडियो न्यानो कपडा

चितवन, पुस १२-
भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा बितरण गरिएको छ ।
चिसो बढ्ने क्रम सुरु भएसँगै भरतपुरका तटीय क्षेत्र पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो ।
चिसोका कारण बालबालिका घरमै बस्नुपर्ने समस्या नहोस् भन्ने उद्देश्यले बाल विकास कक्षादेखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२६ मा रहेको रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरणको सुरुवात गरिन् । बालबालिकासँग मेयर कार्यक्रम ५ वर्षदेखि सञ्चालनमा छ ।
कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको नियमित नहुने भन्दै महानगरले विगत चार वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् । मेयर दाहालले किशोरी छात्रालाई साइकल बितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा तीन हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन् ।
यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका विद्यालयका एक हजार बालबालिकालाई वितरण गरिएको महानगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

























