राजनीति

सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैनः पूर्वसभामुख सापकोटा

Banner

कञ्चनपुर, पुस ११-

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताउनुभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।

सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उहाँले भन्नुभयो, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।”

अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताउनुभयो । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विष्लेषण गर्‍यो”, उहाँले भन्नुभयो, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्‍यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताउनुभयो ।

विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उहाँको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उहाँले बताउनुभयो ।

“विद्रोहबाट आएको पार्टी भएकाले पहिलोपटक सरकारमा जाँदा अनुभव थिएन”, उहाँले भन्नुभयो, “त्यसबाट अनुभव लिँदै दोस्रोपटक पार्टी सत्तामा पुग्दा नौ महिनाको अवधिमा राम्रो कार्य गर्‍यौँ, अहिले थोरै सिट भए पनि पार्टी राजनीति र सत्ताको केन्द्रविन्दुमा रहेको छ, जनताको हितमा हुने गरी कार्य गर्न खाजेका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>