समाचार
राष्ट्रिय सभा निर्वाचनः बागमती कांग्रेसबाट चितवनका टेकप्रसाद गुरुङ सहित ९१ जनाको नाम सिफारिस

मकवानपुर, पुस ११
राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले ९१ जनाको नाम सिफारिस गरेको छ । बुधबार कांग्रेस बागमती प्रदेश सभापति बानियाँले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जनाको नाम सिफारिस गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिको कार्य सम्पादन समितिले उम्मेदवार सिफारिसको सम्पूर्ण अधिकार सभापति बानियाँलाई नै दिएको थियो । सोही आधारमा बानियाँले जिल्लाबाट प्राप्त सिफारिसलाई अध्ययन गरी कांग्रेस केन्द्रीय कार्यालयमा सिफारिस गरेका हुन् ।
कांग्रेस बागमती प्रदेशले १० जना केन्द्रीय सदस्यसहित २ जना जिल्ला सभापतिलाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउन सिफारिस गरेको छ भने ४ जना प्रदेश पदाधिकारी, २ जना जिल्ला सभापति र २ जना राष्ट्रिय व्यक्तित्वसहित ९१ जनालाई राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
जसमा केन्द्रीय सदस्यहरू दोलखाका जिप छिरिङ लामा, काभ्रेका गणेश लामा, धादिङका दिलमान पाख्रिन, चितवनका टेक प्रसाद गुरुङ रहेका छन् । काठमाडौँकी राधा घले, हरिशरण नेपाली, भक्तपुरका गंगा अवला, मदनकृष्ण श्रेष्ठ, ललितपुरका मदन अमात्य र जितजंग बस्नेत राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि कांग्रेस बागमती प्रदेशले सिफारिस गरेको छ ।
प्रदेश पदाधिकारीबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारका लागि सिफारिस हुनेमा उपसभापति चन्द्र महर्जन, महासचिव राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डङ्गोल र हरिशरण श्रेष्ठ रहेका छन् । काठमाडौँका जिल्ला सभापति सबुज बानियाँ र मकवानपुरका सभापति बुद्ध लामा पनि राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि प्रदेश समितिले सिफारिस गरेको छ । राष्ट्रिय व्यक्तित्व तर्फ कलाकार निर शाह र पत्रकार तारानाथ दाहाललाई राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।
उक्त पदहरूमा आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभाका निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेको छ ।























