चितवन विशेष

तमू प्ये ल्हु संघले नारायणी किनारमा ल्होसार मनाउँदै

Banner

चितवन, पुस १०–

तमू प्ये ल्हु संघ चितवनले यसवर्षको ‘तमू ल्होसार’ पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ। गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको रूपमा स्थापित संस्थाले यसपटक खुला स्थानमा ल्होसार मनाउने तयारी गरिएको मङ्गलबार भरतपुर–११, नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

संघका अध्यक्ष बिक्रम च्हम्रु तमूका अनुसार ल्होसार पर्वलाई थप परिचित गराउने उद्देश्यले नदी किनारमा मनाउने तयारी गरिएको हो। ‘हामीले तयारी करिबकरिब सकाएका छौँ,’ उनले भने, ‘कार्यक्रममा धेरैभन्दा धेरैलाई उपस्थित गराउने प्रयास गरेका छौं।’ जिल्लाका सबैलाई पायक पर्ने सार्वजनिक स्थान भएको हुँदा यसवटक नदी किनारमा विशेष कार्यक्रम गर्ने योजना बनाएको उको भनाइ छ।

प्ये ल्हु संघले यसपटक पुस १३ गते नै ल्होसार मनाउने तयारी गरेको हो। १५ गते मुख्य दिन भए पनि धेरै टोल तथा इकाइहरूमा मनाउने हुँदा जिल्ला समितिले १३ गते नै मनाउने तयारी गरिएको संघका सचिव चित्र ‘सोल्टी’ तमूले जानकारी दिए। ‘१५ गते धेरै ठाउँमा ल्होसार मनाउने हुँदा हामीले अगाडि नै मनाउने तयारी गरेका हौँ,’ उनले भने।

यसपटकको ल्होसारमा मौलिक लोक संस्कृति संरक्षण गराउन कौडासहित सोरठी, मारूनी, बाह्रमासे घाँटु, स्यार्गालगायत लोप हुने अवस्थामा पुगेका मौलिक लोक संस्कृतिलाई विशेष जोड दिइएको छ। १३ गते बिहान नारायणढस्थित क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्‍याली आयोजना गरिएको उनले बताए। क्याम्पाचौरबाट सहिदचोक, पुलचोक हुँदै नदी किनार पुग्ने र्‍यालीमा घाँटु, सोरठी, स्यार्गाजस्ता मौलिक लोक नृत्य प्रस्तुत गरिने उनको भनाइ छ।

र्‍यालीमा तमू प्ये ल्हु संघले मान्दै आएको धार्मिक एवम् सांस्कारिक मन्दिर ‘क्होइबो’को नमुना बोकेर बजार परिक्रमा गरिनेछ। त्यसपछिको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक मिलन लामाको प्रस्तुति रहने छ। सँगसँगै स्थानीय लोक संस्कृतिलाई पनि विशेष स्थान दिइने प्ये ल्हु संघ चितवनका पूर्वअध्यक्ष जगतबहादुर टु क्ल्हेप्री तमूले जानकारी दिए।

ल्होसारकै अवसर पारेर तमू जातिको हित र संस्थागत विकासमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए। १२ वटा जीवजन्तुको नाममा वर्गचक्रअनुसार ल्होसार मनाउँदै आएका गुरूङ समुदायले यस वर्ष बिरालो वर्ग ९हिल्हो०लाई बिदाइ गर्दै गरूड वर्ग  (मुप्रिल्हो) लाई स्वागत गरेर ल्होसार मनाउँदै छन्।

यता जातीय संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले भने पुसको १४ र १५ गते विशेष कार्यक्रम गरेर ल्होसार मनाउने तयारी गरिरहेको छ। नेपाल तमू विद्यार्थी छोँज धीँ, चितवन र विभिन्न आमा समूहको सक्रियतामा पुस १४ गते राति १२ बजेसम्म सांस्कृतिक प्रस्तुति हुने ह्युल छोँज धीँ चितवनकी अध्यक्ष एवम् तमू ल्होसार पर्व–२०८० मूल समारोह समितिकी संयोजक विमलादेवी गुरूङले जानकारी दिइन्।

‘१४ गते राति सांस्कृतिक कार्यक्रम हुन्छ। राति १२ बजेपछि नयाँ वर्गलाई स्वागत गरेपछि १५ गते दिनभर औपचारिक तथा सांस्कृतिक कार्यक्रम गरेपछि समापन हुनेछ,’ उनले भनिन्। ह्युल छोँज धीँ चितवनले विगतका वर्षमा जस्तै ह्युल छोँज धीँ चितवनको सांस्कृतिक सङ्ग्रहालय, महाबौद्ध गुम्बा तीनखोले परिषरमा ल्होसार मनाउने तयारी गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>