पर्यटक

पर्यटन प्रवद्र्धन अभियानमा बाँके रष्ट्रिय निकुञ्ज

Banner

बाँके,पुस १०

देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यस वर्षभरी नयाँ मार्ग निर्माण गर्ने र निकुञ्ज परिसरलाई सजाउने योजना छ । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने छ । यसका लागि निकुञ्जमा नयाँ मार्ग निर्माण गर्दै छौँ ।” पर्यटन प्रवद्र्धनका लागि विस्तृत योजना बनाउँदै गरेको उल्लेख गर्दै वरिष्ठ संरक्षण अधिकृत शाहले त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० को आयोजना तथा निकुञ्जको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीलाई जङ्गल सफारी गराइएको थियो । नाट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउनुभयो ।

“निकञ्जबारे तीनै तहका सरकारले चासो दिन आवश्यक छ । बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीयस्थल छन् । ती सबैको विकासका लागि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यसको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रभित्र पर्छ । निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको यो निकुञ्ज बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ ।

निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायत जनावर पाइन्छन् । जैविक विविधताको दृष्टिले आठ पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पक्षी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने ९सरिसृप० तथा छ प्रजातिका उभयचर प्राणी पाइन्छन् ।

सालक, हुँडार, जङ्गली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु पनि निकुञ्जमा रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पक्षी अभिलेख गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यस निकुञ्जमा पाइन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>