देश/प्रदेश
कैद भुक्तान गरेर आज छुट्नेतयारीमा रहेका मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर, पुस ९-
लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० का चण्डेश्वर सहनी बिहान करिब साढे ६ बजे मृत्यु भएको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
कैद भुक्तान अवधी आज सकिने भएपछि आजै छुट्ने तयारीमा रहेका उनलाई लेनदेन मुद्दामा मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।
मंसिर २१ गते पनि मोरङ कारागारमा लेटाङ नगरपालिका-४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको थियो ।


























