देश/प्रदेश
३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने कानून, विमानस्थल भन्सारमा २१ दिनको मात्रै

काठमाडौं, पुस ८-
नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा सीसीटीभी फुटेज २१ दिनको मात्र स्टोरेज हुने गरेको भेटिएको छ ।
१४ किलो सुनको अध्ययनका क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छानबिन समितिले जानकारी दिएको हो ।
मंसिर २१ गते त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए । घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।
उक्त समितिले आइतबार छानबिन प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा छानबिन समितिका संयोजक पौडेलले विमानस्थल भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको र विमानस्थलबाट पास लिएका मोबाइल नम्बरहरु पनि नभेटिएका बताए ।


























