समाज
झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई जना घाइते

जनकपुरधाम, पुस ६-
धनुषाको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । धनुषाको हँसपुर नगरपालिका-५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् ।
स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएको भन्दै आक्रोशित स्थानीय प्रहरी चौकी घेर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुईजनालाई गोली लागेको हो ।
गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । अन्सारीको बायाँ पाखुरा र मण्ड़लको दाहिने हातमा गोली लागेको हो । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको गोली लागेर दुईजनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।























