समाचार
एमालेले भन्यो ‘बागमती सरकार अकर्मण्य छ’

मकवानपुर पुस ०४-
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकार अकर्मण्य रहेको ठहर गरेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको पुस ३ गते सम्पन्न बैठकले सरकार अकर्मण्य रहेको ठहर गर्दै सच्चिएर अघि बढ्न आग्रह गरेको छ ।
एमाले बैठकले प्रदेश सरकार सत्ता गठबन्धनका लागि मात्र बनेको निष्कर्ष निकालेको छ । सरकारले सत्ता गठबन्धनका नेता तथा कार्यकर्तालाई मात्र फाइदा पु¥याउने काम गरेको एमालेको ठहर छ ।
उक्त बैठकले बागमती प्रदेशसभा सञ्चालन, सरकारको काम कारबाही, आ.व. २०८०/८१ को बजेट कार्यान्वयनको स्थिति, समसामयिक राजनीतिक विषयहरु र जनताले दैनिक जीवनमा भोग्नुपरेका पीडा र सास्तीका विषयमा गहन छलफल गरेको थियो । संसदीय दलको एकवर्षे कार्यकालमा एमालेले खेलेको भूमिकाका बारेमा समीक्षासमेत गरिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।
लोकतान्त्रिक गणतन्त्र र संघीयता कार्यान्वयनमा एमालेले सदैव अग्रसरता लिँदै आएकाले जनताको पार्टी बन्न सफल भएको उनले बताए । उक्त बैठकले प्रदेश सरकारका काम कारबाहीलाई समीक्षा गरी ध्यानाकर्षण समेत गराएको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै एमालेले सरकारलाई सुधार गर्न ८ बुँदे सुझाव समेत दिएको छ ।
प्रमुख सचेतक पौडेलका अनुसार एमालेले आर्थिक अपारदर्शिता हटाउन र सुशासन कायम गर्न सरकारलाई सुझाव दिएको छ । सरकारले विपक्षी दलहरुले दिएका सुझाव र सरकार सञ्चालनका लागि विभिन्न समयमा भएका सम्झौतासमेत कार्यान्वयन नगरेको तथा विपक्षीको आवाज नसुनेको एमालेको निष्कर्ष छ ।























