चितवन विशेष

भरतपुरमा वातावरण विज्ञानका विद्यार्थीहरुलाई अभिमुखीकरण

Banner

चितवन, पुस ४–

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरुलाई वातावरण विज्ञान विषयको महत्वबारे अभिमुखीकरण दिइएको छ ।

क्याम्पसको विज्ञान संकायले विश्वमा वातावरण क्षेत्रमा देखिएका जल्दाबल्दा मुद्दाहरुसँग जुध्न यस विषयको सैद्धान्दिक ज्ञानलाई कसरी प्रयोग गर्ने भनेर अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा वातावरण विज्ञान विषयका सहायक प्राध्यापक ध्रुव आचार्यले वर्तमान समयमा वातावरण विज्ञान विषयको महत्व, अवसर र चुनौती विषयमा आफ्नो प्रस्तुतिकरण दिएका छन् । वातावरण विज्ञान बहुविद्यागत र धेरै विषयसँग सम्बन्ध राख्ने विषय भएकोले यसले प्राकृतिक तथा सामाजिक विज्ञानको ज्ञानलाई समेटी मानवका कारण पृथ्वीमा सिर्जना भएका वातावरणीय समस्याहरु र तिनका समाधानका उपायहरु सुझाउने उद्येश्य राखेको उनले बताए । उनले आफ्नो प्रस्तुतिकरणमा भने, ‘वर्तमान समयमा देखिएका वातावरणीय प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधताको लोप जस्ता जटिल समस्यासँग जुध्न पनि यस विषयसँग सम्बन्धित ज्ञान आवस्यक छ ।’

कार्यक्रमका सप्तगण्डकी बहुमुखी क्यामपसका क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञानले नै आजको दिनमा नयाँ आविस्कार गर्दै आएकोले अनुसन्धानमा केन्द्रित हुन र अध्ययनलाई अगाडि बढाउन आग्रह गरे । क्याम्पसले विद्यार्थीको आवश्यकतालाई सधैँ प्राथमिकतामा राख्दै पुस्तकालय, प्रयोगशाला व्यवस्थापन र दैनिक पठनपाठनलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।
विज्ञान विभाजका सहायक प्राध्यापक गिरीराज उपाध्यायले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा क्याम्पसको विज्ञान विभागका विभागीय प्रमुख रविराज सुवेदीले स्नातक तहको चार वर्षे कोर्स सफलतापूर्व पूरा गरी योग्य नागरिक बन्न तथा सिकेका सिप र ज्ञानलाई प्रयोग गरी सबै मिलेर समाज र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।

विसं २०४५ सालमा स्थापना भएको क्याम्पसमा २०६८ सालदेखि बिएस्सी. कार्यक्रम सञ्चालन हुँदै आएको छ । विज्ञान विभागका विभागीय प्रमुख सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, निवर्तमाम क्याम्पस प्रमुख, विभागीय सदस्यहरु, बिएस्सी.–२०८० ब्याजका विद्यार्थी करिब ३५ जनाको सहभागिता रहेको छ ।

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा समावेश गरेको, विकास र वातावरणको सन्तुलन कायम गर्न वातावरण संरक्षण ऐन, २०७७ तथा नियमावली, २०७८ नेपाल सरकारले जारी गरी लागू गरेको तथा उक्त ऐनको दफा २१ मा वातावरण निरीक्षकको ब्यवस्था गरेको र वातावरण निरीक्षकका लागि वातावरण विज्ञानमा स्नातक गरेको हुनुपर्ने प्रावधान रहेको उनले बताए । यसका साथै ७५३ स्थानीय तहले समेत प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन जारी गरिसकेको र उक्त ऐनमा समेत कम्तीमा १ जना वातावरण निरीक्षक पद सिर्जना गरी स्थानीय तहमा स्वच्छ वातावरंण कायम गर्न तथा वातावरणीय अनुगमन सम्बन्धी कार्य गर्ने ब्यवस्था गरेको भएता पनि केही महानगरपालिका तथा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा उक्त पद खाली रहेकोले यस विषयका विद्यार्थीहरुले लोकसेवा मार्फत जान सक्ने सहायक प्राध्यापक आचार्यले जानकारी दिए । यस बाहेक विभिन्न अन्तर मन्त्रालय, विभाग, सरकारी तथा गैह्रसरकारी संघसंस्थामा वातावरण अधिकृतको रुपमा काम गर्न सक्ने, अध्ययन अनुसन्धानमा लाग्न सक्ने तथा माथिल्लो शैक्षिक योग्यता लिन सक्ने अवसर रहेको उनले बताएका छन ।
नेपाललगायत विश्वमै देखिएका वातावरणीय समस्यहरु जस्तै बायु प्रदूषण, जल प्रदूषण, ध्वनी प्रदूषण, फोहोरमैला ब्यवस्थापन, जैविक विविधता ह्रासलगायतका समस्याहरु बढ्दै गइरहेको अवस्थामा यस्ता समस्या समधानका लागि मानव समुदायनै लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यस विषयको स्कोप झन बढ्दै गएको उनले बताएका छन् । प्रस्तुतकर्ता आचार्य विभिन्न स्थानीय तहमा वातावरण सल्लाहकारका रुपमा काम गर्नुका साथै वातावरण क्षेत्रका विभिन्न अनुसन्धान र लेखनमा बिगत एक दशकदेखि सक्रिय रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>