अपराध

प्रहरीले पक्राउ गरेको विमानस्थलका अध्यागमन अधिकृत खड्का माओवादी प्रदेश अध्यक्षका ज्वाइँ

Banner

काठमाडौं, पुस २-

पक्राउ परेका विमानस्थलका अध्यागमन अधिकृत नरवीर खड्का माओवादी प्रदेश अध्यक्षका ज्वाइँ भएको खुलेको छ ।

उनी माओवादी नेताको ज्वाइँ भएकोले अन्य कर्मचारीको समेत मिलेमतोमा सेटिङमा लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एयरलाइन्स र अध्यागमनका कर्मचारीले एजेन्टलाई मोटो रकम दिएर सेटिङ गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

‘प्राप्त रकम कर्मचारीहरुले बाँडेर लिने गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । अनुसन्धान अधिकारीका अनुसार सेटिङमा भिजिट भिसामा पठाएबापत अध्यागमनका कर्मचारीले मात्र प्रतिव्यक्ति ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेका थिए ।

‘सेटिङमा जाने यात्रुको लिस्ट पहिल्यै अध्यागमन कर्मचारीकहाँ पुग्ने गरेको प्रमाण हामीसँग छ । दैनिक २५० देखि ३ सय जनासम्म पठाउने गरेको देखिन्छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने । पक्राउ परेका अध्यागमन अधिकृत खड्का माओवादी नेतृ विमला केसीका आफन्त हुन् । केसी हाल प्रदेश सांसद छिन् भने कर्णाली प्रदेशकी पूर्वमन्त्री तथा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हुन् ।

यो प्रकरणमा हालसम्म ट्राभल एजेन्सी सन्चालक, एजेन्ट, एयरलाइन्सका कर्मचारीलगायत पक्राउ परेका छन् । एयरलाइन्समा नेपाल एयरलाइन्सका मात्र कर्मचारी पक्राउ परेपनि अन्य ५ वटा एयरलाइन्सका कर्मचारी पनि संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अनुसन्धान अधिकृतले जानकारी दिए । गृह मन्त्रालय स्रोतका अनुसार बाटामा हिँडिरहेका आफ्ना कर्मचारीहरुमाथि प्रहरीले क्षेत्राधिकार नाघेर धरपकड गरेको भन्दै कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सरकारी कर्मचारीलाई पक्राउ गर्ने अधिकार अख्तियार अनुसन्धान आयोगलाई मात्र रहेको भन्दै उनीहरुले प्रहरीले निजामती कर्मचारीको मनोबल गिराउने काम गरेको बताएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>