समाचार
यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौँ, मंसिर २८-
सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेअनुसार सोको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
अघिल्लो साता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने गरी सोबारेको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । हरेक ६–६ महिनामा यसबारे नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आवश्यक निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । डाँक, तार वा टेलिभिजन सेवा, जल स्थल वा हवाई जहाजको देखभाल, प्रिन्ट वा सरकारी छापासम्बन्धी सेवा, हरियार खरखजना वा सैनिक सरसामानको उत्पादन गर्ने, वितरण गर्ने र भण्डारण गर्ने सेवा, सञ्चार सेवा, खानेपानी, पर्यटन आवास होटल, पेटोलियम पदार्थ, अस्पताल, स्वास्थ्य चौकी क्षेत्रमा हडताल गर्न निषेध गरिएको छ । यस्तै औषधि विक्रि वितरण, एम्बुलेन्स सेवा, विद्युत, विमा, इन्टरनेट सेवामा समेत हडताल गर्न नपाइने उल्लेख गरिएको छ ।























