Breaking News
आर्थिक मन्दीले चितवनमा पाँच महिनामा १५० व्यापारिक फर्म र १११ वटा उद्योग बन्द

चितवन, मंसिर २७–
आर्थिक मन्दीले चितवनमा यस आर्थिक वर्षको पाँच महिनामा १५० वटा व्यापारिक फर्म र १११ वटा उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार यस आर्थिक वर्षको साउनदेखि मंसिर २७ गतेसम्म वैदेशिक रोजगारीको कारणले सो संख्यामा फर्म तथा उद्योग बन्द भएका हुन् ।
व्यापारिक फर्मअन्र्तगत पसलहरु पर्छन् । चितवन उद्योग संघको सर्वेक्षणमा भने झण्डै ३० प्रतिशत उद्योगहरु बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालले व्यापारीहरु विदेश जाने प्रवृत्तिका कारणले पसलहरु बन्द भएका छन् । उनले नारायणी अनलाइनलाई भने, ‘ धेरै पोल्ट्री उद्योगहरु दानामा भएको मूल्य वृद्धिसँगै बन्द भएका छन् । अर्काेरित उद्योगीहरु पनि विदेश पलायन हुने अवस्था आएको छ ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष च्ुननारायण श्रेष्ठले बैँक ब्याजमा वृद्धि र उत्पादन लागत बढेको कारणले कतिपय उद्योग बन्द भएका छन् । उनले भने, ‘ उद्योग तथा व्यवसाय क्षेत्रमा कर्जा प्रवाह हुन पाएको छैन । बैँकका पैसा थन्किएर बसेको छ । आम नागरिकको क्रय शक्ति घट्दै गएर बजार पनि खुम्चिएको देखिन्छ । युवाहरुको विदेश पलायनले खाद्यान्न तथा विभिन्न वस्तुको खपत पनि घटेको छ ।’ उनले व्यापार तथा व्यवसायलाई सहजरुपमा सञ्चालन गर्न बैँकको ब्याजलाई एक डिजिटमा झानुपर्छ भन्ने आफूहरुको माग रहेको बताए । चितवनका व्यवसायीहरुले नारायणगढको पुलचोक–गोन्द्राङ ६ लेन सडक विस्तारको काम समयमा नसकिँदा पनि अपेक्षितरुपमा व्यापार, व्यवसाय हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
फाइल फोटो
























