देश/प्रदेश
१४ किलो सुन प्रकरणः त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पाण्डे पक्राउ

काठमाडौं, मंसिर २८-
त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई प्रहरीले पक्राउ गरेको छ । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।



























