समाज

सडकमा भेटेको एक लाखको बिटो प्रहरीलाई बुझाएर चर्चामा

०
Banner

चितवन, मंसिर २७-

सडकमा भेटेको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएर पोखराका एक २३ वर्षीय युवकले सकारात्मक सन्देश दिएका छन् । उनले सडकमा भेटेको एक लाख नोटको बिटो तत्काल प्रहरीलाई खबर गरी बुझाएका छन् ।

पोखरा–१८ सराङकोट, पदेली घर भएका युवराज थापा सोमबार अपरान्ह ४ः४० बजेतिर भैरवटोलबाट अर्चलबोट जाँदै गर्दा चोकैमा १ लाखको बिटो देखे । एनआइसी एशिया बैंकको स्टीकर टाँस गरेको १००० दरको १०० नोट रहेको १ लाख बिटो देख्नेबित्तिकै सोधपुछ गरे । अनि, पुलिसलाई खबर गरिदिए । वडा प्रहरी कार्यालयबाट प्रहरीको टोली अर्चलबोट पुग्यो । र, मुचुल्का बनाई प्रहरीले बुझ्यो ।

यस ईमान्दारिताका लागि उनलाई बधाई मिलिरहेको छ । उनको फेसबुक प्रोफाइलमात्र होइन, युवाहरुको सेक्रेट फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ मा पनि चर्चा छ । पोखराकै प्रदीप तिवारीले ‘एमआरआर’ मा गरेको पोष्टमा युवराजको उदार र सफा हृदयको प्रशंसा स्वरूप बधाईको ओइरो लागेको छ ।

प्रहरी आइनपुग्दै स्थानीय शुशिला शर्माले फेसबुकमा युवराजको तस्वीरसहित शेयर गरिन् । त्यहाँ पनि उनको ईमान्दारिताको चर्चा भइरहेको छ ।

पैसा कसको हो भन्ने अझै खुलेको छैन । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार रकम दाबी गर्न प्रमाणका साथ सम्पर्कका लागि सूचना जारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>