समाचार
एनसेल प्रकरणमा अर्बौं घोटाला भएको आशंका छः महामन्त्री थापा

काठमाडौं, मंसिर १९-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् ।
‘हिजोआज तपाईले पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौं रुपैयाँको घोटालाको काण्ड सुन्नुहुन्छ, प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ’, उनले भने । महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।
मलेसियाको कम्पनी आजियटाले हालै आफ्नो एनसेलमा रहेको स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको छ । उक्त खरिदबिक्री शंकास्पद भन्दै नेपालभित्र छानबिन हुनुपर्ने माग भइरहेको छ । महामन्त्री थापाले नागरिकका साना साना काम पनि नभएका कारण सरकारप्रति आक्रोश बढेको बताए ।























