समाचार
नेपाल–भारत सीमा स्तम्भ मर्मत थालियो

कञ्चनपुर, मंसिर १९-
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ।
सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट सुरु गरिएको हो।
पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले संयुक्त रुपमा मर्मत तथा रङ्गरोगन कार्यको शुभारम्भ गरे।
सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बिजोर सङ्ख्यामा कञ्चनपुरमा सशस्त्र प्रहरीले ६६ वटा सीमा स्तम्भ मर्मत गर्ने जानकारी दिए।
उनले दुई देशबीचको सीमा रक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा भारतीय सुरक्षा निकायसित निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिए। उनले सशस्त्र प्रहरी बललाई पहिलोपटक सीमा मर्मतसम्भारको जिम्मेवारी दिएअनुरुप सशस्त्र प्रहरीले पूरा गर्ने विश्वास दिलाए।
त्यसैगरी कैलालीमा समेत सोमबार नै सीमा स्तम्भ मर्मत तथा रङ्गरोगनको कार्य थालिएको छ। पूर्वी नेपालमा पनि सीमा स्तम्भको मर्मत शुरु भएको छ।
कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य सशस्त्र प्रहरी बलले जनाएको छ। विसं २०१४ साल पछाडि बनेका सीमा स्तम्भ मात्रै मर्मतसम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको जनाइएको छ।

























